आज :

कांग्रेस र जसपा नेता कार्यकर्ताबीच कुटाकुट, अध्यक्षसहित ५ जना घाइते, के छ अवस्था ?

  • अनलाइन डबली

वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकामा  नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताबीच कुटाकुट भएको छ ।शुक्रबार दिउँसो भएको कुटाकुटमा वडा नं ३ का अध्यक्ष सञ्जयकुमार पटेल सहित ५ जना घाइते भएका छन् ।

घाइतेहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । वडा अध्यक्षको गालामा चोट लागेको छ भने भित्र र बाहिर गरी पाँच वटा टाँका लागेको नारायणी अस्पतालले जनाएको छ ।

त्यसैगरि वडा नं ४ बस्ने अन्दाजी ७० वर्षीय महम्मद गफार मिया, ४० वर्षीय महम्मद एकबाल मिया, ४५ वर्षीय अकबर मिया र ३१ वर्षीय विजय चौरसिया घाइते भएका छन् । घाइतेमध्ये महम्मद मियाको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।

घटनामा संलग्न रहेको आरोपमा ५५ वर्षीय ध्रुव साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

‘गाउँ सभामा नै प्रहरी टोली खटिएको थियो, झडप नै भयो भनेपछि थप टोली पठायौं’ उनले भने, ‘त्यसपछि हामीले भिडलाई तितर वितर पारेका थियौं, पछि वडा नं ३ बालुवाकट्टी जाने बाटोमा कांग्रेस र जसपाको कार्यकर्ताबीच झडप भएको थियो ।’

शुक्रबार दिउँसो २ बजेतिर कालिकामाईको आठौं गाउँसभामा सुरु गर्न लागिएको थियो । सभामा उपाध्यक्ष राजमति बरैनी, वडा नं २ का अध्यक्ष सोनालाल चौरसिया, वडा नं ४ का अध्यक्ष सञ्जय साह गोढ लगाउत २९ जना सदस्य पुरै सहभागी भएका थिए ।

तर सहमति हुन नसकेपछि शनिबार अपराह्न ४ बजे श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय हरिहरपुरविर्तामा बस्नेगरि बैठक डाक्ने तय भयो ।

सोही अनुसार अध्यक्ष बशिष्ट कुमारको आदेशले प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले सूचना पनि टाँस गरेका थिए । उनीहरु बसिरहेकै ठाउँमा वडा नं ४ का अध्यक्ष सञ्जय साह गोढको भाइ रञ्जित आएका थिए ।

वडा नं ३ का अध्यक्ष पटेलले गाउँ सभा सदस्य र सहयोगी कर्मचारी मात्रै रहेको ठाउँमा सरोकार नभएको मानिस नआउन भनी प्रहरी लगाएर रञ्जितलाई बाहिर पठाएका थिए । त्यसैले गर्दा आक्रोशमा आएका रञ्जित साह गोढले आफू बाहिर निस्केपछि अचानक आक्रमण गरेको वडा नं ३ का अध्यक्ष पटेलको आरोप छ ।

त्यसपछि आक्रोशमा आएका दुवै पक्षका कार्यकर्ताहरुले कालिकामाईको विभिन्न ठाउँमा झडप गरेका थिए । अर्का घाइते मम्मद गफारले भने गाउँ सभा हेरेर फर्कने क्रममा आफूलाई घेरा हालेर आक्रमण गरेको बताए ।

वडा नं ४ का वडा अध्यक्ष सञ्जय साह गोढले भने वडा नं ३ का अध्यक्ष आफैंले हानेर घाउ बनाएको आरोप लगाए । गाउँ सभामा कुनै घटना नभएको बताउँदै बाहिर गएर सञ्जयले नै हो हल्ला गराएको उनको तर्क छ । तर प्रहरीले पनि वडा नं ३ का वडा अध्यक्ष सञ्जयमाथि ढुंगा प्रहार भएको दाबी गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal