
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह बुधबार बिहानै स्थानीय निर्वाचनका आफ्ना प्रतिस्पर्धी तथा पूर्वमेयर केशव स्थापितलाई भेट्न चुच्चेपाटीस्थित उनको निवास पुगे। मेयर निर्वाचित भएपछि बालेन पहिलोपटक स्थापितलाई भेट्न गएका हुन्।
‘म त ध्यान गर्ने तयारीमा थिएँ। श्रीमतीले बालेन आएको छ भनिन्,’ स्थापितले भने, ‘मैले उनलाई डाकेको पनि होइन। बिहान ढोका ढक्ढक्याउँदै आइपुगे। मैले कफी खुवाएँ।’
बालेनले उम्मेदवार बन्नुअघि पनि स्थापितसँग कुराकानी गरेका थिए। निर्वाचन प्रचारप्रसार क्रममा पनि दुई जनाको भेट भएको थियो। बालेनले आशिर्वाद मागेका थिए। स्थापितले ‘सफल इन्जिनियर भव’ भने।
निर्वाचनकै बेला बालेनलाई ‘फटाहा’ भन्नधरि स्थापित पछि परेका थिएनन्। जवाफमा बालेनले ‘आफ्नो प्रचार गरिदिएको’ भन्दै स्थापितलाई ‘ब्रान्ड एम्बेसडर’ को पगरी थमाइदिए। चुनावदेखि नै यस्तो नोकझोंक चलिरहेका बालेन र स्थापितबीच बुधबार करिब एक घन्टाको कफी वार्ता भयो।
‘मैले अबदेखि सोधेर आउने चलन चलाउनू, बाटोबाटै आउने होइन भनेको छु,’ स्थापितले भने, ‘विषय किटान गरेर आउनुपर्छ। अनुमति लिनुपर्छ। कार्यालयमा चिट काटेर आएजस्तो होइन। यो त मेरो घर हो, दिस इज माई हाउस भनेँ।’
बालेन सुरूमा सोफाको पल्लो छेउमा बसेको र पछि आफूले सँगै बसालेको स्थापित बताउँछन्। ‘उनी सोफाको पल्लो छेउमा बसेका थिए, मैले मेरै छेउमा बस भनेँ,’ स्थापितले भने, ‘कालो कफी खुवाएँ। पाकेको ‘अन्डा खाऊ’ भनेको, खाएनन्। बालेनसँगै आउनेले चाहिँ खाए।’
स्थापितका अनुसार झन्डै एक घन्टा बसे पनि बालेन खासै बोलेनन्। सँगै आएका उनको सचिवालयका व्यक्तिहरूले धेरै जिज्ञासा राखेको स्थापितले बताए।
धेरैजसो जिज्ञासा फोहोर व्यवस्थापन, महानगरको बागदरबार कार्यालय नयाँ बनाउने कि रेट्रोफिट गर्ने, फुटपाथ पसल कसरी व्यवस्थापन गर्ने लगायत विषयमा केन्द्रित थिए।
‘फोहोर व्यवस्थापनको कुरा गर्न खोजेको मैले बुझेँ। आसय बुझेर मैले यो मेरो काठमाडौं हो, म मेरो काठमाडौं सुध्रिएको हेर्न चाहन्छु भनेर भनेँ। तीन महिनाभित्र काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिन्छ भनेर सुनाएँ,’ स्थापितले भने।
यति भनेपछि बालेनले ‘कसरी जाऊँ त’ भनेर सोधेछन्। स्थापितले भनेछन्, ‘अहिले तिमी हिँडेको बाटो गलत छ। तिमी उल्टो बाटो गइरहेका छौ। यसले तिमीलाई गलत ठाउँमा पुर्याउँछ। बाटो सच्याएर अगाडि बढ्नू।’
आफूले विभिन्न विषयमा सल्लाह-सुझाव दिँदा पनि बालेन सुन्ने र अमल गर्ने मुडमा नदेखिएको स्थापितको बुझाइ छ। ‘मैले बालेनलाई सुन्ने मुडमा चाहिँ देखिनँ,’ उनले भने, ‘ऊ भरिभराउ भएर आएको थियो। यसो फोटो खिच्ने, मिडियामा हाल्ने मुड देखिन्थ्यो।’
उनको यस्तै मुड देखेर ‘तिम्रो काम गर्ने शैली भएन’ भन्दै आफूले हप्काएको पनि स्थापितले बताए। ‘यसरी नै काम गर्ने हो भने तिमीले काठमाडौं बिगार्छौ भनेको छु,’ स्थापितले भने, ‘मैले उसलाई सबभन्दा पहिला फोहोरमैलाको समस्या समाधान गर्न भनेको छु।’
कुराकानी क्रममा बालेनका सहयोगीहरूले पछिल्लो समय उठेका आलोचनाको प्रसंग पनि झिकेको स्थापितले जानकारी दिए। खासगरी बालुवाटारमा मकै पोल्ने व्यवसायीका सामान नगर प्रहरीले जबर्जस्ती खोसेर लगेको घटनामा भएको आलोचनाबारे उनीहरू स्थापितको राय सुन्न चाहन्थे।
जवाफमा स्थापितले भने, ‘सहरी गरिबले कुनामा बसेर मकै बेचेर के हुन्छ? आइसक्रिम बेचेर के हुन्छ? सैलुङको आलु ल्याएर भुटेर बेचे पनि हुन्छ। तिमीले त बरू १० हजार जनालाई रोजगारी दिन्छु भन न। यसको निम्ति लगानी गर र उनीहरूबाट दैनिक पैसा उठाऊ। मकै पोल्न दस हजारवटा आधुनिक मेसिन ल्याऊ। ब्रिकेटबाट पोल्न मिल्ने, धुवाँ नआउने मेसिन हुन्छ। त्यस्तो मेसिनले आफैं हावा दिन्छ। मकैको खोयाबाट ब्रिकेट पनि बनाउन मिल्छ। त्यस्तो मेसिनबाट मकै पोल्ने व्यवस्था गराऊ।’