
काठमाडौँ । सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो। यो विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा छलफलपछि ०७७ असार ९ गते प्रतिनिधि सभामा समितिको प्रतिवेदन पेश भएको थियो।
संसदमा पेश भइसकेपछि मन्त्रिपरिषदले निर्णय गरेर मात्रै विधेयक फिर्ता लिन सक्ने व्यवस्था रहेको छ। ती मन्त्रीका अनुसार नागरिकता विधेयकमा रहेका बिबादित विषय झिकेर फेरि प्रतिनिधि सभामा पेश गर्ने तयारी छ।
प्रतिनिधि सभामा पुगेको समितिको प्रतिवेदनमा नेपाली नागरिकसँग बैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंगीकृत नागरिकता लिन चाहेमा बैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोबास गरेको हुनुपर्ने प्रावधान राखिएको छ।
राज्य व्यवस्था समितिमा छलफलको क्रममा नेपाली कांग्रेसका सांसद र मधेश केन्द्रित दलका सांसदहरूले यो प्रावधानको विरोध गरेका थिए।
मंगलबार मात्रै नागरिकता विधेयक खारेज गर्न छ वटा कम्युनिष्ट पार्टी र एक मोर्चाले संयुक्त रूपमा काठमाडौंमा प्रदर्शन गरेका थिए।
नेकपा बहुमत, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल केन्द्रीय समन्वय समिति, नेकपा, माओवादी कम्युनिष्ट पार्टी नेपाल र संयुक्त क्रान्तिकारी मोर्चा नेपाललगायतले मंगलबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्।
उनीहरूले नागरिकता विधेयक खारेज गर्न माग गर्दै प्लेकार्डसहित प्रदर्शन गरेका थिए।