
काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ७३५ पालिकाको नतिजा सार्वजनिक भएको हो । अब १९ वटा पालिकाको मतपरिणाम आउन बाँकी छ । अहिलेसम्मको नतिजा अनुसार नेपाली काँग्रेसले सबैभन्दा धेरै पालिका जितेर पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा पुगेको छ ।
निर्वाचन आयोगका अनुसार कांग्रेसले अहिलेसम्म ३ सय २१ वटा पालिकाको प्रमुख पद जितेको छ । एमालेले २ सय वटा पालिकाको प्रमुख पद जितेको छ । तेस्रोमा रहेको माओवादी केन्द्रले १ सय २० वटा पालिकाको प्रमुख पद जितेको छ ।
यो निर्वाचनले यसअघि दोस्रोमा रहेको काँग्रेसलाई पहिलो बनाइदिएको छ भने पहिलो दल एमालेलाई दोस्रोमा झारेको छ । त्यस्तै माओवादीले २०७४ को चुनावभन्दा आफूलाई सुदृढ गरेको छ ।
त्यसैगरी जनता समाजवादी पार्टीले २९, नेकपा एकीकृत समाजवादीले १९ र लोकतान्त्रिक समाजवादी पार्टीले १५ वटा पालिकाको प्रमुख पद जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले चार–चार वटा पालिकाको प्रमुख पद जितेका छन् ।
यस्तै, जनमत पार्टीले दुई तथा नेपाल मजदुर किसान, विवेकशिल साझा, तमलोपा र जनप्रगतिशील पार्टीले एक–एक वटा पालिकाको प्रमुख जितेका छन् । स्वतन्त्र उम्मेदवारले १२ वटा पालिकाको पालिकाको प्रमुख पद जितेका छन् ।
कुन पार्टीले कति प्रमुख वा अध्यक्ष र उपप्रमुख वा उपाध्यक्षमा जितेका छन् ?
नेपाली कांग्रेसले मेयर तथा अध्यक्ष ३ सय २१ र उपमेयर/उपाध्यक्ष २ सय ९५ जितेको छ । नेकपा एमालेले मेयर/अध्यक्ष–२ सय
र उपमेयर/उपाध्यक्ष–२ सय २८, माओवादी केन्द्र मेयर/अध्यक्ष–१ सय २० र उपमेयर/उपाध्यक्ष–१ सय २८ जितेको छ ।
त्यसैगरी जसपाले मेयर/अध्यक्ष–२९, उपमेयर/उपाध्यक्ष–३०, एकीकृत समाजवादी मेयर/अध्यक्ष–१९ र उपमेयर/उपाध्यक्ष–२१, लोसपा
मेयर/अध्यक्ष–१५ र उपमेयर/उपाध्यक्ष–११ जितेका छन् । त्यस्तै, राप्रपाले मेयर/अध्यक्ष–४ र उपमेयर/उपाध्यक्ष–४, जनमोर्चा
मेयर/अध्यक्ष–४ र उपमेयर/उपाध्यक्ष–३, नागरिक उन्मुक्ति पार्टी मेयर/अध्यक्ष–४ र उपमेयर/उपाध्यक्ष–३, जनमत पार्टी मेयर/अध्यक्ष–२
र उपमेयर/उपाध्यक्ष–१, मजदुर किसान पार्टी मेयर/अध्यक्ष–१ र उपमेयर/उपाध्यक्ष–१, तमलोपा मेयर/अध्यक्ष–१, जनता प्रगतिशील पार्टी
मेयर/अध्यक्ष–१ र उपमेयर/उपाध्यक्ष–१, विवेकशील साझा मेयर/अध्यक्ष–१ र उपमेयर/उपाध्यक्ष–१, स्वतन्त्र मेयर/अध्यक्ष–१२ र उपमेयर/उपाध्यक्ष–४ जितेका छन् ।