आज :

केशव स्थापित सिर्जनाभन्दा यति धेरै मतले पछि, बालेनले कति पुर्याए ?

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मत गणनाको पछिल्लो नतिजा सार्वजनिक भएको छ । सुरुदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरलाई कायमै राखेका छन् ।

जारी मतगणनाको पछिल्लो नतिजाअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले झण्डै ४० हजार मत ल्याएका छन् । उनले अग्रता झन फराकिलो बनाउँदै लगेका छन् । गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले २२ हजार ७२ मतका साथ दोस्रो नम्बरमा छन् ।

नेकपा एमालेका केशव स्थापितलाई सिर्जनाले पछि पारेकी छन् । उनले स्थापितसँगको मतान्तरलाई फराकिलो बनाउँदै लगेकी छन् । शनिबार साँझसम्म १-२ सय मतले अगाडि रहेकी सिर्जनाले आइतबार विहानसम्म पुग्दा ५०१ मतले अघि छन् । स्थापितले २१ हजार ५७१ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार बालेन साह कांग्रेसकी सिर्जना सिंहभन्दा १६ हजार ९३४ मतले र एमालेका केशव स्थापित भन्दा १७ हजार ४३५ मत अन्तरले अगाडि छन् । वडा नम्बर ७, ९, १०, ११, १२, २३? २४, २५ र २६ वडाको मतको अन्तिम नतिजा आउन बाँकी छ ।

मत गणना जारी रहेको पोखरा महानगरपालिकामा मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्य र उपमेयर उम्मेदवार मञ्जु देवी गुरुङको अग्रता कायम छ । आचार्य एकीकृत समाजवादीका र गुरुङ नेकपा एमालेका उम्मेदवार हुन् ।

आचार्यले एमालेका उम्मेदवार कृष्ण थापालाई ३ हजार २ सय ६० मत अन्तरले पछि पारेका छन् । एक लाख १ हजार १२१ मत गणना हुँदा आचार्यले ४० हजार ४३४ र थापाले ३७ हजार १७४ मत पाएका छन् ।

यसैगरी प्रमुख पदमा राप्रपाका उम्मेदवार शंकर खरालले ४ हजार ५८२ मत पाउँदा स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस)ले २ हजार ६१३ मत पाएका छन् ।

उपमेयर उम्मेदवार एमालेकी गुरुङले कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट भन्दा १ हजार ६१२ मत बढी पाएकी छन् । मञ्जुको ४२ हजार ३१६ र कोपिलाको ४० हजार ७०४ मत छ । राप्रपाकी रञ्जना कुमारी सेन पौडेलको पक्षमा ४ हजार ५०९ मत परेको छ ।

यसैबीच जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा काँग्रेसका बागी उम्मेदवार मनोज कुमार साहको अग्रता कायमै छ । आइतबार विहानको मत परिणाम अनुसार उनले ९ हजार ७७४ मत ल्याएका छन् ।

यस्तै एमालेले उम्मेदवार शिव शंकर साहले ७६०४ मतस​हित मनोजलाई पछ्याई राखेका छन् । लोसपाका मनोज चौधरी ३ हजार ९५८ मतसहित तेस्रो स्थानमा छन् भने चौथो स्थानमा रहेका सत्ता गठबन्धनबाट जसपाका उम्मेदवार लाल किशोर साहले ३ हजार ३६१ मत छ ।

यस्तै स्वतन्त्र उम्मेदवार बलराम महतो ३ हजार ८५ मत पाएका छन् । उपमेयरमा गठबन्धनबाट काँग्रेसका किशोरी साह १० हजार ९९५ मतसहित अग्रता लिरहेका छन् र उनले एमालेका रुणा देवी झाले ८६६१, लोसपाका रिता कुमारी मिश्रले ४०९३ र स्वतन्त्र निर्मल कुमार चौधरीले २९०१ मत पाएका छन् ।

उता सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राईले ४ हजार १५९ मतको अग्रता लिएका छन् । आज बिहान साढे ९ बजेसम्मको मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार हर्कराज राईले १९ हजार १५५ मत प्राप्त गरेका छन् ।

अर्का प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १४ हजार ९९६ र एमालेकी उम्मेदवार मञ्जु भण्डारीले १२ हजार १४३ मत पाएकी छन् । अब ४ हजार ६२१ मत गन्न मात्र बाँकी छ ।

यो अवस्थामा हर्कराज राई एमालेकी मञ्जुभन्दा ७ हजार १२ मतले र कांग्रेसका किशोर राई भन्दा ४ हजार १५९ मतले अगाडि छन् । धरान उपमहानगरमा मत ६२ हजार ८९८ मा खसेकोमा ५८ हजार २७७ मत गणना भइसकेको छ ।

उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्र विक्रम बेघाको अग्रता जारी छ । उनले १८ हजार ८६४ मत पाउँदा नेकपा एमालेका पदम प्रसाद लिम्बुले १६ हजार ५८१ मत पाएका छन् । उनीहरुबीच २२८३ मत अन्तर छ ।

त्यस्तै वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंहले निरन्तर अग्रता कायमै राखेका छन् ।

मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार राजेशमान विजयबीच झण्डै दोब्बर मत अन्तर छ । राजेशमानले ३२ हजार १५८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीले १६ हजार ८८२ मत ल्याएका छन् । उनीहरुबीचको मत अन्तर १५ हजार २७६ छ ।

प्रमुख पदका अर्का उम्मेदवार राप्रपाका गिरीश गिरीले २ हजार ३५९ मत पाएका छन् । त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले शुरुदेखि नै अग्रता लिइरहेका छन् । उनले निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी -लोसपा)का पुरुषोत्तम लाल झाभन्दा चार गुणा बढी मत ल्याएका छन् ।

इम्तियाजले २२ हजार १०५ मत पाउँदा झाले ५ हजार २६६ मत मात्रै पाएका छन् । उनीहरुबीच १६ हजार ८३९ को मतान्तर देखिएको छ । हालसम्म मेयर पदमा १३ हजार ९७१ र उपप्रमुख पदमा २८ हजार ६३ मत बदर भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal