आज :

चितवनमा भिषण हावाहुरी, ३ जनाको मृत्यु

  • अनलाइन डबली

भरतपुर । चितवनमा शुक्रबार साँझ भीषण हावाहुरीसहित आएकाे पानीले तीन जनाकाे ज्यान लिएको छ ।

हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर ज्यान गएको छ ।

भरतपुर महानगरपालिका ११ भोजाड जंगलस्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना २ ह २२४७ नम्बरको अटोलाई रूख ढलेर च्याप्दा भरतपुर ११ लामाटोल बस्ने वर्ष ५० का प्रदीपकुमार लामा र अटोमा सवार परिचय नखुलेकी अन्दाजी ५०/५१ वर्षकी महिलाको घट्नास्थलमा नै मृत्यु भएको हो ।

अटोमा सवार अबिता गुरुङ र तुलमाया गुरुङ सामान्य घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

यस्तै हावा हुरीको कारण रूख ढल्दा भरतपुर महानगरपालिका ११ बसेनी चोकमा बिशाल चोकबाट बसेनीतर्फ जाँदै गरेको ना १ ज ६१४० नम्बरको म्याजिकलाई किच्दा म्याजिकमा सवार भरतपुर ११ बस्ने वर्ष ४८ को लोकनाथ न्यौपानेको घटनास्थलमा नै मृत्यु भएको घिमिरले बताए ।

राती वर्षा सहित आएको हावाहुरीले अटो र म्याजिकमाथि रुख ढलेको थियो । भीषण हावाहुरीले नारायणी नदीको पुल माथि रहेका सबै बिजुलीका सबै पोल भाँचिदिएकाे छ । नारायणगढदेखि गैंडाकोटसम्मका पुलमाथि रहेका सबै पोल भाँचिएका छन् ।

पाेल नारायणी नदीतर्फ झुन्डिएको अवस्थामा छन् । पाेलहरू ढल्दा रेलिङसमेत भाँचिएको छ । अकस्मात आएको हावाहुरीले गुडिरहेको ट्रकलाई नारायणी पुल माथि नै लडाइदिएको थियाे ।

पुलमा रहेको बारले गर्दा ट्रक नदीमा खस्नबाट जोगिएको प्रहरीले जनाएको छ। ट्रक लडेपछि केहीबेर पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध बनेको थियो । क्रेनको सहायताले ट्रकलाई उठाएपछि राजमार्ग खुलेको छ ।

हावाहुरीले भरतपुरमा रहेको सिनर्जी एफएम ९१.६ मेगाहर्जको टावर भाँचिएको छ । रेडियोको प्रशारण अहिले बन्द छ । भरतपुरका अधिकांश भागमा विद्युत लाइन छैन ।

साझा पेट्रोल पम्पको छाना खसेर गाडी थिचेको छ । भरतपुर अस्पतालको हाता भित्रको पार्किङमा रूख ढलेर स्कुटर र मोटरसाइकल च्यापेको छ । तोरीखेतमा रुख ढलेर घर भत्काएको प्रहरीले जनाएको छ ।

भरतपुर बाईपासमा डिभिजन सडक कार्यालय अगाडि रहेको वरको रुख लडेर तीन वटा फिडरको ११ के भी प्रसारणको तारमा पर्दा करिब ३०० मिटर तार सहितको पोल भाँचिएर बाटो र अवरुद्ध भएको छ ।

अहिले उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ । यसैगरी कैलालीको लम्किचुहा–८ स्थित गप्कामा हावाहुरीपछि रुख ढल्दा बस किचिएको छ ।

गुडिरहेको से १ ख १८०६ नम्बर सुदूरपश्चिम यातायातको बस रुख बज्रिन पुगेको थियो । सो घटनामा ५ जना यात्रु घाइते भएका छन् भने उनीहरुको लालरत्न अस्पतालमा उपचार भइरहेको कैलाली प्रहरीले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal