आज :

मतपत्र बढी भेटिएपछि रंगेलीमा लफडा, प्रहरीले गोली चलायो, अवस्था तनाबग्रस्त

  • अनलाइन डबली

विराटनगर । मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि मोरङको रंगेली नगरपालिकामा तनाव भएको छ ।

मतगणनका क्रममा मुचुल्का गरिएको भन्दा ९९ वटा बढी मतपत्र भेटिएपछि नेपाली कांग्रेस कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा तीन प्रहरी र तीन प्रदर्शनकारी घाइते भएका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बुझिएको छ । त्यस्तै ३ राउन्ड अश्रु ग्याँस पनि प्रहार गरेको मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । घाइतेको अवस्था सामान्य रहेको उनले बताए । केहीबेर तनावग्रस्त भएको रंगलीको मतगणना क्षेत्र अहिले सामान्य रहेको उनको भनाइ छ ।

मतगणनाका क्रममा वडा नम्बर ७ मा ९९ वटा बढी मतपत्र भेटिएपछि कांग्रेसले मतगणना रोकेर प्रदर्शन गरेको थियो । कांग्रेसका उम्मेदवार मोदराज घिमिरेका अनुसार वडा नम्बर ७ मा ३ हजार ४४२ मत खसेको थियो, गणनाका क्रममा ९९ वटा मतपत्र बढी भेटिएपछि मतगणना रोकिएको छ ।

विवादका कारण रोकिएको मतगणना पुनः सुरु हुन नसकेको रंगेली नगरपालिकाका निर्वाचन अधिकृत रामहरि शर्माले बताए । कांग्रेसले पुनः निर्वाचन माग गरेको पत्र पेस गरेपछि निर्वाचन आयोगमा पठाइदिएको उनले बताए ।

रंगेलीमा यसअघि पनि विवाद भएको थियो । शनिबार राति ८ बजे शिल नगरेको मतपेटिका भेटिएपछि कांग्रेस प्रतिनिधिले मतगणना रोकेका थिए ।

रोकिएको मतगणना निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको उपस्थीतिमा भएको छलफल पछि सोमबारबाट सुरु भएको थियो ।

रंगेलीमा पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवार दिलीपकुमार अग्रवाल ७ हजार ३८५ मतसहित अग्रस्थानमा छन् । कांग्रेस उम्मेदवार घिमीरेले ५ हजार ७८ मत पाएका छन् ।

यस्तै स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले एमालेको रेकर्ड ब्रेक गरेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले ७५३ मध्ये २९४ स्थानीय तह जितेको थियो ।

यस पटकको निर्वाचनमा नेपाली काँग्रेसले एमालेको पुरानो रेकर्ड ब्रेक गर्दै सवै स्थानीय तहको मत गणना नसक्दै २९६ स्थानीय तह जितेको छ । शुक्रबार अपरान्हसम्मको तथ्यांकमा काँग्रेसले नगरपालिका तथा उपमहानगर पालिका प्रमुखमा ११२ र गाउँपालिका अध्यक्षमा १८४ पद जितेको हो ।

२०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसले २६७ स्थानीय तहमात्र जितेको थियो । त्यस्तै नेकपा माओवादीले १०६ जितेको थियो । यसपटक माओवादी केन्द्रले पनि विगतको तुलनामा बढी स्थानीय तह अहिले नै जितिसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal