आज :

काठमाडौँका यी २ वडामा स्थापितले लिए अग्रता, सिर्जना दोस्रो र बालेन तेस्रो स्थानमा, ताजा अपडेट

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह सबभन्दा अगाडि छन्। हालसम्म ७० हजार ९६० मत गनिसक्दा बालेनले २६ हजार ८३८ मत पाएका छन्।

एमाले उम्मेदवार केशव स्थापितले १४ हजार २७७ मत पाएका छन् भने कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले १३ हजार ६७३ मत ल्याएकी छन्। अहिले काठमाडौंका ६, ७, ८, २७, २८, २९, ३१, ३२ नम्बर वडाको मतगणना भइरहेको छ।

१, २, ३, ४, ५ र ३० को मतगणना सकिइसकेको छ। गणना भइरहेका वडाहरूमध्ये २७ र २८ मा स्थापितले सरूआती अग्रता लिएका छन्। यी दुवै वडामा सिर्जना दोस्रो स्थानमा छिन् भने बालेन तेस्रोमा।

२७ र २८ वडाबाहेक गणना भइरहेका अरू वडा र गणना सकिएका वडाहरूमा भने बालेन नै अगाडि छन्। पछिल्लो विवरणअनुसार स्थापितले २७ नम्बर वडामा ९९२ मत गनिसक्दा ३०८ मत पाएका छन्। यहाँ सिर्जना सिंहले २३५ र बालेनले १६१ मत पाएका छन्।

२७ नम्बर वडामा छुस्याबहा, जमल, कमलाक्षी आसपासको क्षेत्र पर्छ। त्यस्तै २८ नम्बर वडामा ३०३१ मत गन्दा स्थापितले ७४१ मत पाएका छन्। उनलाई ७३० मतसहित सिर्जनाले पछ्याएकी छन् भने बालेनले ७२१ मत पाएका छन्।

अहिलेसम्म दुई वडामा बालेन पछि परे पनि २८ नम्बर वडामा टक्कर नै छ। यहाँ उनको मतान्तर एकदमै कम छ। २७ नम्बरमा भने स्थापित र सिर्जना दुवैले उनलाई पछि पारेका छन्।

काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ मा कांग्रेसले जितेको छ। निर्वाचन आयोगका अनुसार २८ नम्बर वडामा कांग्रेस उम्मेदवार भाइराम खड्गी प्रकाशले वडाध्यक्ष पदमा विजय हासिल गरेका हुन्।

भाइरामले यो वडामा १२८२ पाएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका विपेन्द्र खड्गीले १०७३ मत पाएका छन्। भाइराम यसअघि पनि यो वडाका वडाध्यक्ष थिए।

यसअघि कांग्रेसले वडा नम्बर ३० मा जितेको थियो। कांग्रेसका दलबहादुर कार्कीले एमाले उम्मेदवार कृष्णभक्त खड्गीलाई हराएका थिए। अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५ एमालेले जितेको छ।

उता नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का नेपालका कमरुद्दिन राई निर्वाचित भएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपति दयाल मिश्रलाई दोब्बर बढी मतान्तरले पराजित गर्दै विष्ट निर्वाचित भए। उनले २३ हजार ४ सय ६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मिश्रले ११ हजार ६ सय ७५ मत ल्याए। विष्ट र मिश्रबीच ११ हजार ७ सय ८५ मतको अन्तर रहेको छ। तेस्रो स्थानमा आएका राप्रका नन्दलाल वैश्यले ७ हजार ५ सय ९८ प्राप्त गरेका छन्।

यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राई निर्वाचित भएका छन्। उनले १७ हजार ९ सय ५० मत प्राप्त गरेका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्तिदेवी ढकालले १० हजार ९ सय १५ मत प्राप्त गरिन्।

राई र ढकालबीच ७ हजार ३५ मतको अन्तर रहेको छ। राप्रपाकी बिन्दु चर्तीमगरले १० हजार १ सय ३५ मत प्राप्त गरेकी छन्। नेपालगन्ज उपमहानगरपालिकाको निर्वाचनमा नेपाली कांग्रेस, जसपासहित पाँच दलबीच गठबन्धन बनेको थियो भने नेकपा एमाले र राप्रपा एक्ला एक्लै भिडेका थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal