काठमाडौं । काठमाडौं महानगरपालिकाका एमाले उम्मेदवार केशव स्थापितले दुई वडामा सुरूआती अग्रता लिएका छन्। त्यस्तै कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले एउटा वडामा प्रारम्भिक अग्रता लिएकी छन्।
अहिले गणना भइरहेका १४ वटा वडामा तीन वटाबाहेक अरू सबै वडामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्। पछिल्लो विवरणअनुसार स्थापितले २७ र २८ नम्बर वडामा अग्रता लिएका छन्।
२७ वडामा ५०० मत गनिसक्दा उनले १७३ मत पाएका छन्। यहाँ सिर्जना सिंहले १२६ र बालेनले ६७ मत पाएका छन्। २७ नम्बर वडामा छुस्याबहा, जमल, कमलाक्षी आसपासको क्षेत्र पर्छ।
त्यस्तै २८ नम्बर वडामा २५२१ मत गन्दा स्थापितले ६०७ मत पाएका छन्। उनलाई ६०४ मतसहित बालेनले पछ्याएका छन् भने सिर्जनाले ५७० मत पाएकी छन्।
सिर्जना सिंहले भने एउटा वडामा सुरूआती अग्रता लिएकी छन्। उनले वडा नम्बर ८ मा सुरूवाती अग्रता लिएकी हुन्। पछिल्लो विवरणअनुसार ८ नम्बर वडाको ७०० मत गन्दा सिर्जनाले २१२ मत पाएकी छन्।
यहाँ उनका प्रतिस्पर्धी बालेन शाहले १९२ मत पाएका छन् भने स्थापितले १६० मत पाएका छन्। यो वडामा सिफल, गौशाला, तिलगंगा, मृगस्थली र त्रिभुवन विमानस्थलको दायाँ तर्फको क्षेत्र पर्छ।
अहिले वडा नम्बर १, २, ३, ४ र ५ को मतगणना सकिइसकेको छ। त्यस्तै वडा नम्बर ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ।
६५ हजार ८१ मत गन्दा अहिलेसम्म बालेनले २५ हजार १८५ मत पाएका छन्। स्थापितले १३ हजार ९८ मत पाएका छन् भने सिर्जनाले १२ हजार ४६० मत पाएकी छन्।
त्यस्तै काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले प्रतिस्पर्धाभन्दा तीन गुणा बढी मतले अग्रता लिएकी छन्।
पछिल्लो मतपरिणाम अनुसार सुनिताले २४५९२ मत ल्याएकी छन्। उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ७८६८ मत ल्याएका छन्।
उता धरानमा ३१ हजार ४६३ मतगणना सकिँदा मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता कायम राखेका छन्। हर्कले ९ हजार ३९५ मत पाउँदा गठबन्धनका कांग्रेस उम्मेदवार किशोर राईले ८ हजार ६ सय ५७ मत पाएका छन्।
एमाले उम्मेदवार मन्जु भण्डारीले ७ हजार ९ मत पाएकी छन्। उपमेयरमा गठबन्धनका माओवादी उम्मेदवार अइन्द्र बेघा ९ हजार ८९० मतसहित अगाडि छन्। उनलाई एमालेका पदम लिम्बूले ९ हजार ४८६ मत ल्याएर पछ्याइरहेका छन्।
धरानमा १,२,३,४,५,६,७,८,९,१०,१२,१८ र १९ नम्बर वडाको मतगणना सकिएको छ भने ११ र १३ र १४ को मतगणना भइरहेको छ।
१५,१६ र १७ न. वडाको मतगणना हुन बाँकी छ। २० न. वडाको मतगणनामा विवाद भएपछि मतपरिणामलाई तत्काल रोकिएको छ।