
काठमाडौँ । सिरहाको धनगढीमाई नगरपालिकाको मतगणना स्थलमा नेपाली काँग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ ।
धनगढीमाई नगरपालिका ८ को मतगणना गर्दा मतदान अधिकृतको हस्ताक्षर नरहेको १७ वटा मतपत्र भेटिएपछि कांग्रेसका कार्यकर्ता मतगणना स्थलमा ढुंगामुढा गरे ।
सो क्रममा कांग्रेसकै कार्यकर्ताले एमाले कार्यकर्ताहरु बसेको टेन्टमा समेत ढुंगा हानेपछि दुबै पार्टीका कार्यकर्ताबीच झडप भएको हो । कांग्रेस कार्यकर्ताहरु ढुंगामुढा गर्दा दुईवटा गाडीको सिसा समेत फुटेको छ ।
प्रहरीले स्थिति नियन्त्रणमा लिनअश्रुग्यास प्रहार गरेका छन् । प्रहरीले बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिएपछि अहिले सर्वदलीय बैठक बस्दैछ । विना हस्ताक्षरको मतपत्र फेला परेपछि धाँधली भएको भन्दै काँग्रेस कार्यकर्ताहरूले विरोध गरिरहेका छन् ।
मेयरमा काँग्रेस जिल्ला सभापति समेत रहेका पूर्वसांसद रामचन्द्र यादव लडेको र उनी पछाडि परेकाले कार्यकर्ताहरु झन आक्रोशित देखिन्छन् ।
नेकपा एमालेका मेयर उम्मेदवार शिवशंकर महतो सुरुदेखि नै अग्रता कायम राखेका छन् । करिब १ सय भोट मात्र गन्न बाँकी रहेको र काँग्रेस हार्न लाग्दा बखेडा झिकेर लफडा गर्न खोजेको एमालेको आरोप छ ।
निर्वाचन अधिकृतको कार्यालयका एक कर्मचारीका अनुसार विना हस्ताक्षरको मतपत्र फेला परेपछि विवाद हुँदा तत्काल मतगणना स्थगित भएको छ । तर यो विवाद सर्वदलीय बैठकबाट समाधान गरिने प्रयास जारी छ ।
उता नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृह वडामा नेकपा एमाले विजयी भएको छ। सिटौलाको घर रहेको झापाको भद्रपुर नगरपालिका–१० को वडाध्यक्षमा एमालेका टेकबहादुर खड्का विजयी भएका हुन् ।
खड्काले काँग्रेसका विष्णुप्रसाद काफ्लेलाई ३०९ मतले पराजित गरी वडाध्यक्षमा जित हासिल गरेका छन् । खड्काले १ हजार ४८० मत ल्याउँदा काफ्लेले १ हजार १७१ मत पाएका छन्। उक्त वडामा राप्रपाका उम्मेदवार खेमराज भट्टराईले ७०६ मत ल्याएका छन्।
उता कैलालीको भजनी नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन । निवर्तमान नगरप्रमुख तथा माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर चौधरीलाई तीन हजारभन्दा बढी मतान्तरले नागरिक उन्मुक्तिका उम्मेदवार केवल चौधरी विजयी भएका हुन ।
यसैगरी उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार गोकेन्द्र भण्डारीलाई दुई हजार ४०० मतले पछि पार्दै नागरिक उन्मुक्तिकै राजु तिरुवा विजयी भएका छन् ।
प्रमुख, उपप्रमुख जितेको नागरिक उन्मुक्तिले ३ वडाध्यक्ष, माओवादी केन्द्रले ३ वडाध्यक्ष, नेकपा एमालेले २ वडाध्यक्ष र नेपाली काँग्रेसले १ वडाध्यक्ष जितेका छन् ।
भजनीमा नागरिक उन्मुक्तिबाट वडा नम्बर १ को वडाध्यक्षमा धर्मेन्द्र श्रेष्ठ, ३ मा विक्रम चौधरी, ६ मा रामसागर चौधरी विजयी भएका छन् । नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धन छ ।
गठबन्धनमध्ये माओवादीका तर्फबाट वडा नम्बर २ मा दुर्गा पुन, ४ मा जन्ताराम चौधरी, ८ मा पंकज चौधरी र काँग्रेसका तर्फबाट वडा नम्बर ७ मा अमरबहादुर कठरिया वडाध्यक्षमा विजयी भएका छन भने नेकपा एमालेबाट वडा नम्बर ५ मा केशब बुढा र ९ मा सञ्जिब चौधरी विजयी भएका छन ।