
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकाको एउटा वडामा अनौठो घटना भएको छ । स्थानीय तह निर्वाचन अन्तरगत बर्दिबास नगरपालिकाको वडा नम्बर ८ को मतगणना नसकिँदै अन्तिम नतिजा घोषणा भएको खुलेको छ ।
बर्दिबास नगरपालिका वडा नम्बर ८ को मतपरिणाम सार्वजनिक भइसकेपछि ढिला गरी एउटा मतपेटिका छुटेको खुलासा भएको हो । बर्दिबासका १३ वटा वडाको मतगणना सम्पन्नपछि अन्तिम वडाको मतपेटिका निकाल्ने क्रममा वडा नम्बर ८ को थप एउटा मतपेटिका फेला परेको निर्वाचन कार्यालय बर्दिबासकी सहायक निर्वाचन अधिकृत शर्मिला तामांगले जनाइन् ।
उनले मतदान निर्वाचन अधिकृतलगायत सबै दल तथा प्रतिनिधिहरुको समेत गल्ती रहेको स्वीकारिन् । बर्दिबास–८ स्थित बेलगाछीको २ वटा मतपेटिकामध्ये एउटा मतपेटिकाको मात्रै मतगणना भएको र अर्को मतपेटिका अर्कै वडामा फेला परेको उनले बताइन् ।
उनले आजै मतदान अधिकृत, कर्मचारी र राजनीतिक दलले समेत मत गन्ने बेला सबै मतपेटिकाको खोजी नगरेकाले अन्य वडाका मतपेटिकासँग भूलवश छुटेको उनले बताइन् ।
उनले भनिन्, ‘बर्दिबास वडा नम्बर ८ को ९ वटा मतपेटिका मध्ये ८ वटा मतपेटिकाको मतपरिणाम सार्वजनिक भएकाले सर्वदलीय बैठक बसेर सहमति गरि कार्य अघि बढाइने छ ।’
निर्वाचन कार्यालय बर्दिबासले छुटेको मतपेटिकाको गणनाबाट आउने परिणाम सर्वदलीय बैठकबाट स्वीकार गराएर गणना सुरु गरिने जनाएका छन् ।
निर्वाचन कार्यालय बर्दिवासले ७ सय ५३ मत प्राप्त गरी नेकपा माओवादी केन्द्रका शमशेस सिंह लामालाई ५ दिन अघि नै वडा नम्बर ८ मा विजयी घोषणा गरिसकेको छ ।
यस्तै तनहुँको व्यास नगरपालिकामा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई सुरुवाती अग्रता मिलेको छ । नेपाली काँग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा दीपकलाई एमालेको पनि समर्थन छ ।
एमालेका साथ पाएका दीपकराजले १७९३ सहित अग्रता लिएका हुन् । उनले काँग्रेसका उम्मेदवार बैकुण्ठ नाथ न्यौपानेलाई ५९६ मतले पछाडि पारेका छन् ।
न्यौपानेले ११९६ मत पाएका छन् । उपमेयरमा भने काँग्रेसका उम्मेदवार इन्दिरा दरैले १४०८ मतसहित अग्रता लिएकी छिन् । उनलाई एमाले उम्मेदवार वसुन्धरा घर्तीले १ हजार ३९४ मत पाएकी छिन् ।