आज :

भरतपुरमा चम्किदै रेनु, मतान्तर ह्वात्तै बढाइन, कति मतले पछि छन् विजय ?

  • अनलाइन डबली

चितवन । भरतपुरमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की मेयर उम्मेदवार रेनु दाहालले आफ्ना प्रतिस्पर्धीसँग मतान्तर फराकिलो पारेकी छन्। उनी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीभन्दा १७१२ मतले अगाडि छिन्।

२७ हजार ४३८ मत गन्दा रेनुले ९९७० मत पाएकी छन्। यता विजयले ८२५८ मत पाएका छन्। यस्तै बागी उम्मेदवारी दिएर भुँईकटहर चिन्हबाट चुनाव लडेका जगन्नाथ पौडेलले भने ४५०४ मत पाएका छन्।

यता उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी अगाडि छन्। उनले ११ हजार ९५६ मत पाएका छन्। यता राप्रपाका हिमाल गुरूङले भने ६७४२ मत पाएका छन्।

योसँगै वडा नम्बर ६ को मतगणना पनि सकिएको छ। यस वडामा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवारले २७३५ मत पाएका छन् भने नेकपा एमालेका २११७ मत पाएका छन्।

भरतपुरको अवस्था के हो ?
सत्ता गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको भरतपुर महानगरपालिकामा पहिलो पाँच वडाको मतपरिणाम आउँदा एउटा चित्र प्रस्ट देखिएको छ।

यी पाँचै वडामा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले २०७४ सालमा पार्टीकै उम्मेदवार देवी ज्ञवालीले भन्दा कम मत ल्याएका छन्। पाँच वडाको कुल मत जोड्दा सुवेदीले ज्ञवालीभन्दा २०१४ मत कम ल्याएका छन्।

मत गनिसकिएका प्रत्येक वडामा सुवेदीको मत ज्ञवालीको भन्दा तल छ। अर्कोतिर माओवादीकी रेनु दाहालले यी पाँच वडामध्ये तीन वडामा गएको चुनावमा भन्दा आफ्नो मत बढाइन्। अरू दुइटा वडामा उनको पनि मत घट्यो।

समग्रमा पाँच वडाको कुल मत जोड्दा रेनुले २०७४ सालको भन्दा २८ मत बढाइन्। यसले गर्दा सुवेदीले भरतपुरको मेयर जित्न कठिन देखिन थालेको छ भने रेणुका लागि केही सहज देखिन थालेको छ।

पाँच वर्षअघिको भन्दा भरतपुर महानगरको जनसंख्या धेरै बढेको छ। त्यो बेला एक लाख १२ हजारभन्दा बढी मत खसेको थियो भने यसपालि एक लाख २७ हजार मत खसेको छ। यसपालि खसेको मतको प्रतिशत भने कम छ। पाँच वर्षअघि ७५ प्रतिशत मत खसेको थियो। यसपालि ६९ प्रतिशत मात्रै खसेको छ।

यसपालि मतदाता थपिँदा पनि किन विजय सुवेदीले मत बढाउन सकेनन्?
त्यसका दुइटा कारण छन्। पहिलो र मुख्य कारण हुन् सत्ता गठबन्धनविरूद्ध बिद्रोह गरेर उम्मेदवार बनेका जगन्नाथ पौडेल। जगन्नाथले उम्मेदवारी दिएपछि गठबन्धनसँग असन्तुष्ट भएर रेनुलाई मत दिन नचाहेका कतिपय कांग्रेसी मतदाता भोट खसाल्न गएनन्। कतिपयले जगन्नाथलाई मत दिए।

पाँच वर्षअघि रेनुलाई समर्थन गरेर आफ्ना उम्मेदवार दिनेश कोइरालालाई अन्तिम समयमा फिर्ता लिन लगाएपछि रूस्ट बनेका कांग्रेसीले एमाले उम्मेदवार देवी ज्ञवालीलाई मत दिएका थिए। यसपालि कांग्रेसीले रेनुविरूद्ध रिस पोख्ने ठाउँ भुइँकटहर (जगन्नाथ) मा पाए। त्यसैले सूर्यमा मत खसालेनन्। जसका कारण १ देखि ५ सम्मका वडामा विजय सुवेदीले देवी ज्ञवालीको जति मत पाउन सकेनन्।

दोस्रो कारण, सुवेदीले आफ्नै प्रभावमा मत बढाउन सकेको देखिएन। जबकि रेणुले मत बढाएको देखिन्छ। जगन्नाथले यी पाँचै वडाबाट ठूलो संख्यामा कांग्रेसको मत लगेका छन्। उनले यी वडामा जम्मा २७८८ मत ल्याएका छन्। तर पनि रेनुले यी पाँच वडाको जम्मा मत जोड्दा यसपालि २०७४ सालको भन्दा २८ मत थपेकी छन्।

जगन्नाथ नउठेका भए उनले पाएका २७८८ मत रेनु र सुवेदीमा कसरी बाँडिन्थ्यो वा यीमध्ये कति कांग्रेसी मतदाता मत खसाल्नै जाँदैन थिए, यकिन छैन। तर पाँच वर्षअघि देवी ज्ञवालीले पाएको मत हेर्दा यसपालि यी पाँच वडामा जगन्नाथले जसरी मत ल्याए, त्यसले एमाले उम्मेदवार सुवेदीलाई नै क्षति पुर्‍यायो।

ज्ञवालीले पनि पाँच वर्षअघि आफूलाई आएको कांग्रेसी मत अहिले भुइँकटहरमा गएको देखिएको बताए। पाँच वर्षअघि देवी ज्ञवालीले त्यही गरेका थिए। यसपालि जगन्नाथले कांग्रेसको धेरै मत आफूतिर ताने, साथै कांग्रेसी मत एमालेमा जानबाट पनि रोके। सायद त्यसैले नै विजय सुवेदीलाई जित्नबाट रोक्नेछ।

यहाँबाट अघि बढेर सुवेदीलाई भरतपुर महानगरको मेयर जित्न धेरै कठिन छ। किनकी पाँच वर्षअघि यी पाँच वडाको मत गनिसक्दा देवी ज्ञवालीले रेनुविरूद्ध १६६९ मतले अग्रता लिएका थिए। तर पनि बाँकी रहेका वडाबाट रेनुले यो घाटा तिर्दै २०३ मतले जितेकी थिइन्।

यसपालि त यी पाँच वडाको मतगणना सकिँदा नै रेनुले ३७३ मतको अग्रता लिएकी छन्। अहिलेसम्मको ट्रेन्डले व्यक्तिगत रूपमा मत तान्न सक्ने क्षमता पनि सुवेदीको भन्दा रेनुको नै धेरै देखिन्छ। त्यसले बाँकी रहेका वडाको कुल मत सुवेदीले भन्दा रेनुले नै धेरै ल्याउने सम्भावनातर्फ संकेत गर्छ। अहिले जारी वडा नम्बर ६ को मतगणनाले पनि त्यही संकेत गरिरहेको छ।

यो वडामा अहिलेसम्म गनिएका मतमा रेनुले २०७१ मत ल्याएकी छन् भने सुवेदीले जम्मा ९८९ मत ल्याएका छन्। त्यसले गर्दा रेनुको सुवेदीसँगको मतान्तर १६ सयभन्दा धेरै पुगेको छ। एमालेले वडा नम्बर १०, ११ र १२ अनि पश्चिम चितवनका १६, १७, १८, २३, २४, २७ लगायत वडामा राम्रो मत आउने आशा गरेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal