
ओखलढुङ्गा । जिल्लाको चिशंखुगढी गाउँपालिकामा नेपाली काँग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका छन् । चिशंखुगढी गाउँपालिका वडा नम्बर ३ को मत गणनाको क्रममा माओवादीका उम्मेदवारसँग मत बराबर भएपछि काँग्रेस कार्यकर्ताले एउटा मतपत्र च्यातेका हुन् ।
मतपत्र च्यातेको आरोपमा काँग्रेसका जिल्ला सचिव राजकुमार ढुङ्गाना समेतको समूहले निर्वाचन अधिकृतको हातबाटै मतपत्र खोसी च्यातेका हुन् । मतपत्र च्यात्ने काँग्रेसका जिल्ला सचिव ढुङ्गानासहितका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख डिएसपी सुकदेव खनालका अनुसार यतिबेला जिल्ला प्रहरी कार्यालयबाट इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको छ । पक्राउ परेकाहरुलाई हतकडी लगाएर राखिएको छ ।
ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकामा काँग्रेस र माओवादीले गठबन्धन गरेका थिए । गाउँपालिका अध्यक्षमा माओवादीका निशान्त शर्मा बास्तोला उठेका छन् भने उपाध्यक्षमा काँग्रेसका सन्तोषबाबु थापालाई उठाइएको छ ।
गाउँपालिकामा गठबन्धन गरेपनि वडा तहमा भने गठबन्धन गरिएको थिएन । चिशंखुगढी गाउँपालिका ३ मा काँग्रेसका तर्फबाट मिन बहादुर आले मगर र माओवादीका तर्फबाट भिष्म श्रेष्ठ वडा अध्यक्षमा उठेका थिए । उनीहरुको मत बराबर भएपछि पुन गणना गर्न थालिएको थियो ।
एकपटक मत बराबर भएपछि पुनः मतगणना गर्ने क्रममा एउटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि विवाद भएको थियो ।
विवादकै क्रममा निर्वाचन अधिकृतले नजिकैबाट दलका प्रतिनिधिलाई मतपत्र देखाउने क्रममा काँग्रेसका जिल्ला सहिच ढुङ्गाना लगायतको समूले निर्वाचन अधिकृत कमला काफ्लेको हातबाट मतपत्र खोसेर च्यातेका हुन् । मतपत्र च्यातिएपछि त्यहाँ पुनः मतगणना स्थगित भएको छ ।
यसैबीच मोरङको बुढीगंगा गाउँपालिकामा मतणना रोकिएको छ । बुढीगंगा गाउँपालिका–४ मा एमालेले पुनः मतगणना हुनुपर्ने माग गरेको छ । सोमबार ५ बजेदेखि मतगणना रोकिएको छ भने मतगणना स्थल बाहिर एमालेका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।
बुढीगंगा गाउँपालिकाको १, ४ र ७ नम्बर वडाको अन्तिम मत परिणाम सार्वजानिक भएको छ । १ र ४ मा काँग्रेस र ७ नम्बर वडामा एमालेले जितेको छ । ४ नम्बर वडाको मत परिणामलाई लिएर एमालेले विवाद गरेको हो ।
आइतबार राति सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार बुढीगंगा–४ मा नेपाली काँग्रेसका उम्मेदवार शशीकान्त चौधरीले ११ मतान्तरले अध्यक्षमा जितेका थिए । चौधरीले ८१९ मत ल्याएर निर्वाचित हुँदा एमालेका उम्मेदवार सागर बरालले ८०८ मत पाएका थिए ।
४ नम्बर वडामा १३ मत हराएको भन्दै एमालले पुनः मतगणना हुनुपर्ने माग गरेको छ । मत गणनास्थल बाहिर होहल्ला भएपछि गणना रोकिएको निर्वाचन अधिकृत मणिराम पोखरेलले बताए ।
अन्तिम मत परिणाम आइसकेको स्थानमा कुनै पनि हालमा पुनः गणना नहुने उनले बताए । ‘हामीले सबै दलका प्रतिनिधिहरूलाई राखेर गणना गरिएको हो,’ उनले भने, ‘अहिले आएर पुनः गणना गर्न सकिँदैन ।’