
धनुषा । जिल्लाको धनौजीमा मतगणनाका क्रममा विवाद बढेर झडपको अवस्था निम्तिएपछि प्रहरीले २५ राउन्ड हवाई फायर गरेको छ । भिड तितरबितर पार्न प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको थियो ।
स्थिति नियन्त्रणमा नआएपछि केही बेरअघि सेना परिचालन गरिएको छ । सेनाले मत गणना स्थलमा सुरक्षा प्रदान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीप क्षेत्रीले झडप हुन थालेपछि प्रहरीले २५ राउन्ड हवाई फायर गरेको बताए ।
मतगणनाका क्रममा मत पेटिकामा कुल खसेको भन्दा बढी मत भेटिएपछि विवाद सुरु भएको हो । यस्तै धनुषाको नगराइन नगरपालिकाको मतगणना स्थगित भएको छ ।
सो नगरपालिका वडा नम्बर २ को राष्ट्रिय प्रावि जटही (क) र (ख) मतदान केन्द्रको मतगणना कार्य भइरहेको अवस्थामा केही मतपत्रमा मतदान अधिकृतको दस्तखत नभएपछि लोसपा नेपालका प्रमुख पदको उम्मेदवार राजेश चौधरीसमेत ११ जनाले मतगणना स्थलमा निवेदन दिएका थिए ।
यस्तै उप स्वास्थ्य चौकी रामबाग (ख) को मतपेटिका मतदाताको संख्या भन्दा बढी मतपत्र रहेको देखिएको पनि निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोही विषयमा देखिएको समस्या समाधान गर्नका लागि हाललाई मतगणना कार्य अर्को सूचना प्रकाशन नभएसम्म स्थगित गरिएको हो।
यस्तै पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षका दुई उम्मेदवारको मत बराबर आएपछि परिणाम घोषणा हुन सकेको छैन । काँग्रेसका उम्मेदवार चन्द्रवीर रावत र एमालेका उम्मेदवार बलबहादुर रोकायले बराबर मत पाएका हुन् ।
अन्तिम मतपरिणामअनुसार उनीहरुले ६७३÷६७३ मत ल्याएका छन् । गोलाप्रथाबाट नतिजा टुङ्गो लगाउन खोजिए पनि उम्मेदवारहरूबीच सहमति नभएकाले रोकिएको पञ्चपुरी नगरपालिकाका निर्वाचन अधिकृत नविनकुमार भट्टले जानकारी दिए ।
‘उहाँहरुले आधा–आधा कार्यकाल गर्ने कुरा गर्नुभएको छ, त्यो कुरा कानुनमा छैन,’ उनले भने, ‘उहाँहरुले आफै आयोगमा कुरा गर्छौं भनेर भन्नुभएको छ, हामी पनि परामर्श गर्दैछौं ।’