चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणना अन्तरगत अहिले वडा नम्बर २ को मतगणना भइरहेको छ। सो वडा एमालेको पकड भएको वडा मानिन्छ ।
एमालेको पकड भएकै कारण जारी मतगणनामा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले अग्रता बनाएको विश्लेषण गरिएको छ । गत स्थानीय तह निर्वाचन पनि देवी ज्ञवालीले यो वडाबाट राम्रो मत पाएका थिए ।
सो वडाको मतगणना अन्तिम चरणमा पुगेको बताइएको छ । यस्तै वडा नम्बर ११ लगायतका केही वडामा पनि एमालेको पकड रहेको बताइएको छ ।
जारी मतगणनामा ७४७७ मत गणना हुँदा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले २६७९ मत पाउँदा सुवेदीले २६९३ मत पाएका छन् । मतपरिणामअनुसार दाहाल १४ मतले पछि परेकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८६३ मत पाएका छन् ।
यसैबीच भरतपुर वडा नम्बर १ को नतिजा आइसकेको छ । वडा नम्बर १ मा काँग्रेस विजयी भएको थियो भने २ मा मतगणना अन्तिम चरणमा पुग्दा एमालेका उम्मेदवार अघि रहेका छन्।
यस्तै जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्रबाट मेयरका उम्मेदवार मनोजकुमार साहले अग्रता लिएका छन् । साहले १९१८ मत ल्याउँदा एमालेका शिवशंकर साहले ९१८ मत ल्याएका छन् भने लोसपाका मनोज चौधरीले ३११ मत ल्याएका छन् । त्यस्तै जसपाका लाककिशोर साहले २४५ मत प्राप्त गरेका छन् ।
त्यस्तै काङ्ग्रेसबाट उपमेयरका उम्मेदवार किशोरी साहले १८७६ मत प्राप्त गरेका छन् भने एमालेकी रुना झाले ९९६ मत प्राप्त गरेकी छन् । त्यस्तै लोसपाकी रिता मिश्राले ३४१ मत प्राप्त गरेकी छन् ।
यस्तै धुलिखेल नगरपालिकाको मेयरका लागि सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् दयासागर श्रेष्ठ । तर उनी प्रतिस्पर्धाबाट बाहिरिएझैं देखिएको छ । मेयरका लागि नेकपा एमालेका उम्मेदवार अशोक व्यन्जु र स्वतन्त्र उम्मेदवार विदुर बस्नेतबीच चर्को प्रतिस्पर्धा छ ।
व्यन्जु निवर्तमान मेयर हुन् भने विदुर, कांग्रेसका बागी उम्मेदवार हुन् । सत्तारुढ गठबन्धनमा भएको भागवण्डामा मेयर एकीकृत समाजवादीलाई छाडेपछि उनले स्वतन्त्र उम्मेदवारी दिए ।
जेब्रा चुनाव चिन्ह पाएका उनले सुरुवातमा अग्रता लिएका थिए । तर अहिले केही सय मतले अशोक अगाडि छन् । धुलिखेलको १, २, ३ र ४ नं वडाको ५ हजार ७ सय ५५ मत गणना गर्दा व्यन्जुले २ हजार ५०४ मत पाएका छन् भने विदुरले २ हजार २६३ मत आाएका छन् ।
जबकी गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रेष्ठले जम्मा १९६ मत पाएका छन् । धुलिखेलको वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेसका सन्तबहादुर लामा, २ मा एमालेका अर्जुन न्यौपाने, ३ मा एमालेकै गणेश आचार्य र ४ मा कांग्रेसका उत्तमप्रसाद तिमल्सिना निर्वाचित भएका छन् । अब ८ वटा वडाको मत गणना गर्न बाँकी छ ।