
भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । माओवादीबाट मेयरकी उम्मेदवार रेनु दाहालले २४६५ मत ल्याउँदा सुवेदीले २४६८ मत ल्याएका हुन् ।
विजयले ३ मतको अग्रता लिएका हुन् । आइतबार राति ८ बजेको मत परिणामअनुसार जगन्नाथ पौडेलले ८०५ मत पाएका छन् । यस्तै उपमेयरमा चित्रसेन अधिकारीले २७०१ तथा राप्रपाकी हिमला गुरुङले १९७५ मत पाएकी छन् ।
अहिलेसम्म भरतपुरमा ६७७७ मतगणना सकिएको छ । यस्तै विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका नागेश कोइरालाले अहिले पनि अग्रता लिइरहेका छन् ।
भर्खरै घोषित विवरण अनुसार १० हजार ५ सय २५ मत गणना गर्दा गठबन्धन अगाडि रहेको छ । गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवार काँग्रेसका नागेश कोइरालाले ३२७८ मत ल्याएका छन् ।
कोइरालालाई एमालेका सागर थापाले पच्छ्याइरहेका छन् । उनको २३४७ मत रहेको छ । स्वतन्त्र उम्मेदवार उमेश यादवले ११७९ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा एमालेकी शिल्पा निरौला कार्कीले २७०६ मत ल्याएकी छिन् । गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार जसपाका अरमेन्द्र यादवले १७९९ मत ल्याएका छन् ।
त्यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा राप्रपाका दिपक सिंहले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार ९०२९ मत गन्दा सिंहले २७१० मत प्राप्त गरेका छन् ।
यसअघि अग्रता लिइरहेकी नेकपा एकीकृत समाजवादीबाट गठबन्धनकी साझा उम्मेदवार मिनाकुमारी लामाले २६६९ मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार अनन्त पौडेलले २४३४ मत प्राप्त गरेका छन् ।
उपमेयर पदमा भने गठबन्धनका राजेश बानियाँ ३९८२ मतसहित अग्रता लिएका छन् भने नेकपा एमालेकी सुमित्रा काफ्लेले ३०१६ मत ल्याएकी छिन् । यस्तै राप्रपाकी इन्दिरा डल्लाकोटीले ८०३ मत पाएकी छिन् ।
उता दार्चुलाको महाकाली नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा एमाले नेता नरसिंह चैसीर र उपप्रमुखमा दुर्गा खत्री विष्टले विजयी भएका हुन् ।
मेयरमा विजयी चैसीरले पाँच हजार १३ मत प्राप्त गरेका छन् । चैसीरसँग पराजित भएका गठबन्धनको तर्फबाट काँग्रेस उम्मेदवार हंसराज भट्टले तीन हजार ८ सय ८७ मत प्राप्त गरे । भट्ट २०७४ को निर्वाचनमा काँग्रेसबाट मेयरमा विजयी भएका थिए ।
उपमेयरमा विजयी विष्टले चार हजार ६ सय २६ मत प्राप्त गर्दा उनी पराजित गठबन्धनको तर्फबाट काँग्रेस उम्मेदवार सुना बोहराले चार हजार १ सय ८२ मत प्राप्त गरिन् । महाकाली नगरपालिका काँग्रेसको गढ मानिएको थियो । त्यो नगरपालिकामा सत्ताधारी दलहरूले गठबन्धन गरेका थिए ।