आज :

अहिलेसम्म ३० पालिकाको नतिजा सार्वजनिक, कुन पार्टीले कति जिते ? हेर्नुहोस् बिस्तृतमा

काठमाडौँ । स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी रहेको छ। उच्च हिमाली र पहाडी क्षेत्रका पालिकाहरूको नतिजा आइरहेका छन्। अहिलेसम्म ३० स्थानीय तहको परिणाम आएको छ।

जसमा नेपाली कांग्रेसले ३ वटा स्थानीय तह गुमाएको छ भने माओवादी केन्द्रले २ वटा थपेको छ। एमालेले १ स्थानीय तह थपेको छ। नेकपा एमालेले अहिलेसम्म १३ स्थानीय तह जितेको छ। नेपाली कांग्रेसले ९ स्थानीय तह जितेको छ भने माओवादी केन्द्रले ६ वटा जितेको छ।

नेकपा एकीकृत समाजवादीले २ वटा जितेको छ। अहिलेसम्मको नजितामा नेकपा एमालेले जितेका १३ स्थानीय तह मध्ये पाँच वटा उसले यसपटक कांग्रेसबाट खोसेको छ।

अघिल्लोपटक कांग्रेसले जितेका मुस्ताङको लोमान्थाङ र थासाङ एमालेले जितेको छ। त्यस्तै बझाङको साइपाल, नवलपुरको बौदीकाली र म्याग्दीको मालिका गाउँपालिकामा एमालेले जितेको छ। तर उसले २ वटा गाउँपालिका कांग्रेससँग गुमाएको छ भने एउटा माओवादी केन्द्र र एउटा एकीकृत समाजवादीसँग गुमाएको छ।

एमालेले आफूले जितेको मनाङको मनाङ डिस्याङ, चामे, मुस्ताङको लो घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, डोल्पाको शे फोक्सुन्डो मुक्तिक्षेत्र, सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु, बझाङको थलारा र तेह्रथुमको मेन्छ्याममा यसपटक पनि जित हात पारेको छ। एमालेले माओवादी केन्द्रले जितेको कुनैपनि स्थानीय तह खोस्न सकेको छैन।

नेपाली कांग्रेसले अहिलेसम्म जित हात पारेको ९ स्थानीय तह मध्ये अघिल्लोपटक जितेका ७ स्थानीय तह बचाएको छ। दुई वटा एमालेले जितेको स्थानीय तह खोसेको छ। अघिल्लोपटक एमालेले जितेको मुस्ताङको घरपोझङ र गुल्मीको रेसुङ्गा नगरपालिकामा कांग्रेसले जित हात पारेको छ। तर उसले अघिल्लोपटक जितेका ५ गाउँपालिका एमालेसँग गुमाएको छ भने माओवादीसँग एउटा गुमाएको छ।

कांग्रेसले यसअघि आफूले जितेको मनाङको नार्पा भूमी, मनाङको नासो, डडेल्धुराको गन्यापधुरा, गुल्मीको गुल्मीदरबार, डोटीको बडीकेदार, हुम्लाको खार्पुनाथ र बाग्लुङको तमानखोलामा जित हात पारेको छ। कांग्रेसले पनि माओवादी केन्द्रबाट कुनैपनि स्थानीय तह खोस्न सकेको छैन।

नेकपा माओवादी केन्द्रले अघिल्लोपटक जितेको ४ वटा स्थानीय तह जितेको छ। उसले यसपटक कांग्रेसबाट एउटा र एमालेबाट एउटा स्थानीय तह खोसेको छ।

माओवादी केन्द्रले एकीकृत समाजवादीसँग गठबन्धन गरेर दैलेखको नौमुले गाउँपालिमा जित हात पारेको छ। त्यहाँ उपाध्यक्ष एकीकृत समाजवादीले जितेको छ। त्यहाँ अघिल्लोपटक कांग्रेस विजयी भएको थियो।

त्यस्तै माओवादी केन्द्रले अघिल्लोपटक एमालेले जितेको दार्चुलाको अपीहिमाल गाउँपालिका यसपटक जितेको छ। कांग्रेससँगको गठबन्धनका कारण त्यहाँ माओवादीलाई फाइदा भएको छ। उपाध्यक्ष कांग्रेसले जितेको छ।

माओवादी केन्द्रले अघिल्लो पटक जितेको डोल्पाको जगदुल्ला, बाग्लुङको ताराखोला, रोल्पाको थवाङ र उदयपुरको लिम्चुङबुङमा जिते हात पारेको छ।

एकीकृत समाजवादीले पनि यसपटक दुई वटा गाउँपालिकामा जित हात पारेको छ। उसले यसअघि एमालेले जितेको डोल्पाको काइके गाउँपालिका जित हात पारेको छ। त्यहाँ एकीकृत समाजवादीले निर्विरोध जित हात पारेको हो।

त्यस्तै डोल्पाको छार्का साङतोङ गाउँपालिकामा पनि एकीकृत समाजवादी विजयी भएको छ। त्यहाँ यसअघि जितेका स्वतन्त्र उम्मेदवार एकीकृत समाजवादी प्रवेश गरेका हुन्। त्यहाँ एकीकृत समाजवादी निर्विरोध भएको हो।

नेकपा एमाले विजयी भएका पालिकाहरू
मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमालेका कान्छा घले अध्यक्ष पदमा विजयी भएका छन्। उनले कांग्रेसका छिरिङ ओङमा गुरुलाई हराएका हुन्। यो गाउँपालिकामा यसअघि पनि एमाले विजयी भएको थियो। २०७४ सालको निर्वाचनमा एमालेका मिङमार गुरुङ अध्यक्ष पदमा विजयी भएका थिए।

मनाङको चामे गाउँपालिकामा नेकपा एमालेका लोकेन्द्रबहादुर घले अध्यक्ष पदमा विजयी भएका छन्। उनी २०७४ मा विजयी भएका थिए। घलेले यसपटक कांग्रेसका छरिङ ध्वर्जे लामालाई पराजित गरेका हुन्। यसअघि उनले कांग्रेसकै अनिता लामालाई हराएका थिए।

मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिकामा नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट अध्यक्ष पदमा विजयी भएका छन्। उनले उनले एकीकृत समाजवादीका देवबहादुर गुरुङलाई हराएका हुन्। २०७४ सालमा उनले विष्ट स्वतन्त्र उठेका थिए। त्यति बेला उनले कांग्रेसका उम्मेदवारलाई हराएका थिए।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रिङजिन नामगेल गुरूङ विजयी भएका छन्। उनले कांग्रेसका आङजेन गुरुङलाई पराजित भएका छन्। २०७४ सालमा पनि एमालेका रमेश गुरुङ विजयी भएका थिए।

एमालेले यसपटक मुस्ताङको लोमान्थाङ गाउँपालिकामा जित हात पारेको छ। एमालेका टसी न्वर्वु गुरूङ अध्यक्ष पदमा विजयी भएका छन्। उनले कांग्रेसका टसी गुरुङलाई हराएका हुन्। २०७४ सालमा कांग्रेसका सुवर्णकुमार बिष्ट यो गाउँपालिमा विजयी भएका थिए।

मुस्ताङकै थासाङ गाउँपालिकामा पनि एमालेका प्रदीप गौचन विजयी भएका छन्। उनले कांग्रेसका बालकुमारी शेरचनलाई पराजित गरेका हुन्। २०७४ सालमा नेपाली कांग्रेसका बुद्धिप्रसाद भट्टचन गाउँपालिका अध्यक्षमा विजयी भएका थिए।

डोल्पाको से फोक्सुण्डो गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका धावा सम्डुङ गुरुङ विजयी भएका छन्। उनी निर्विरोध निर्वाचित भएका हुन्। यसअघि उक्त गाउँपालिकामा एमालेका टासी टुन्डुप गुरुङ निर्विरोध भएका थिए।

सोलोखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा एमालेका मिङ्मा छिरी शेर्पा अध्यक्ष पदमा विजयी भएका छन्। उनले कांग्रेसका चङबु शेर्पालाई हराएका हुन्। २०७४ सालको निर्वाचनमा एमालेको डिङ दोर्जे विजयी भएका थिए। अघिल्लो स्थानीय निर्वाचनमा पनि दुबै उम्मेदवार भिडेका थिए।

बझाङको साइपाल गाउँपालिकामा नेकपा एमालेका मानवीर बोहोरा अध्यक्ष पदमा विजयी भएका छन्। उनले कांग्रेसका उजले बोहोरालाई हराएका हुन्। २०७४ सालमा नेपाली कांग्रेसका राजेन्द्रबहादुर थामी कांग्रेसबाट विजयी भएका थिए।

बझाङको थलारा गाउँपालिकामा एमालेका प्रकाशबहादुर रोकाय विजयी भएका छन्। उनले स्वतन्त्र उम्मेदवार कुलराज जोशीलाई हराएका हुन्। त्यहाँ गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका बिनोद थापा उम्मेदवार थिए। तर उनले पराजय बेहोरेका छन्। २०७४ को निर्वाचनमा एमालेका भुवनस्वर उपाध्याय अध्यक्ष पदमा विजयी भएका थिए।

नवलपुरको बौदीकाली गाउँपालिकामा नेकपा एमालेका प्रकाश ओझा विजयी भएका छन्। ओझाले कांग्रेसका खडकबहादुर रानालाई हराएका हुन्। २०७४ मा कांग्रेसका दुर्गाबहादुर राना विजयी भएका थिए।

म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमालेका बेगप्रसाद गर्बुजा विजयी भएका छन्। कांग्रेसका श्रीप्रसाद रोक्कालाई उनले हराएका हुन्। २०७४ मा श्रीप्रसाद रोकाले जित हात पारेका थिए। यसपटक बेगप्रादसले नतिजा उल्टाएका छन्।

तेह्रथुमको मेन्छ्याम गाउँपालिकामामा नेकपा एमालेका यादवबहादुर खापुङ विजयी भएका छन्। कांग्रेसका धनकुमार लिम्बुलाई उनले पराजित गरेका हुन्। २०७४ को निर्वाचनमा पनि यादवबहादुर खापुङले जितेका थिए।

नेपाली कांग्रेस विजयी भएका पालिकाहरू
मनाङको नार्पाभूमि गाँउपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन्। उनले स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामालाई हराएका हुन्। २०७४ मा कांग्रेसका मिङ्मा छिरिङ लामा विजयी भएका थिए।

मनाङको नासोँ गाउँपालिकामा नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी भएका छन्। उनले एमालेका मनबहादुर गुरुङलाई हराएका हुन्। २०७४ मा नेपाली कांग्रेसका चन्द्र घलेले गाउँपालिकामा जित हात पारेका थिए।

मुस्ताङको घरपोझङ गाउँपालिकामा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन्। उनले एमालेका सञ्जयकुमार थकालीलाई हराएका हुन्। २०७४ मा एमालेका आसबहादुर थकाली विजयी भएका थिए।

गुल्मीको रेसुङ्गा नगरपालिकामामा नेपाली कांग्रेसका खिलध्‍वज पन्थी विजयी भएका छन्। एमालेका राजेन्द्र प्रसाद पाण्डेयलाई पन्थीले हराएका हुन्। २०७४ मा एमालेका डिल्लीराज भुसाल विजयी भएका थिए।

डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष इन्द्रबहादुर कार्की विजयी भएका छन्। उनले कांग्रेस बिपीका इन्द्रबहादुर कार्कीलाई हराएका हुन्। २०७४ मा नेपाली कांग्रेसका नवलबहादुर मल्ल विजयी भएका हुन्।

गुल्मीको गुल्मीदरबार गाउँपालिकामा अध्यक्ष सरोजकुमार थापा विजयी भएका छन्। उनले एमालेका कृष्णबहादुर भुसाललाई हराएका हुन्। २०७४ मा कांग्रेसका अशोककुमार थापा गाउँपालिका अध्यक्षमा विजयी भएका थिए।

डोटीको बडीकेदार गाउँपालिकामा भैरवबहादुर साउद अध्यक्ष पदमा विजयी भएका छन्। एमालेका चक्रबहादुर घर्तीमगर पराजित भएका छन्। २०७४ सालमा पनि नेपाली कांग्रेसका कृष्णबहादुर चन्दले गाउँपालिमा जित हात पारेका थिए।

हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्षमा कर्णबहादुर रावल विजयी भएका छन्। उनले एमालेका प्रकाशबहादुर शाहीलाई हराएका हुन्। २०७४ को निर्वाचनमा पनि उनी विजयी भएका थिए।

बाग्लुङको तमानखोला गाउँपालिकामा नेपाली कांग्रेसका जोकलाल बुढा विजयी भएका छन्। उनले माओवादीका देवबहादुर पुनलाई हराएका हुन्। २०७४ को निर्वाचनमा पनि बुढा विजयी भएका थिए।

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिकाहरू
डोल्पाको छार्का साङतोङ गाउँपालिका अध्यक्षमा सेनाङ गुरुङ निर्विरोध विजयी भएका छन्। उनी अघिल्लोपटक स्वतन्त्र भएर विजयी भएका थिए। डोल्पाको काइके गाउँपालिकामा अंगदकुमार राना निर्विरोध अध्यक्ष भएका छन्। २०७४ मा उनी नेकपा एमालेबा विजयी भएका थिए।

नेकपा माओवादी केन्द्र विजयी भएका पालिकाहरू
डोल्पाको जगदुल्ला गाउँपालिकाका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारसिङ रोकाय विजयी भएका छन्। एमालेका हेमबहादुर महरातालाई हराउँदै उनले जित हात पारेका हुन्। २०७४ को निर्वाचनमा माओवादीबाट उनै विजयी भएका थिए।

दैलेखको नौमुले गाउँपालिकाका अध्यक्षमा नेकपा माओवादी केन्द्रका छविराम सुवेदी विजयी भएका छन्। उनले कांग्रेसका भेद बुढामगरलाई हराएका हुन्। माओवादी र एकीकृत समाजवादीबीच नौमुलेमा गठबन्धन थियो। उपाध्यक्षमा एकीकृत समाजवादीबाट गंगाबहादुर शाही विजयी भएका छन्। २०७४ मा नेपाली कांग्रेसका भेद बुढामगरले स्थानीय तह जितेका थिए।

बाग्लुङ ताराखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्रका धनबहादुर विक अध्यक्ष पदमा विजयी भएका छन्। उनले स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरलाई हराएका हुन्। ताराखोलाको उपाध्यक्षमा कांग्रेसका भीमबहादुर रोका विजयी भए। अघिल्लोपटक माओवादी केन्द्रका प्रकाश घर्ती मगर नै विजयी भएका थिए।

रोल्पाको थवाङमा ऋषिकेश बुढामगर माओवादीबाट अध्यक्ष पदमा विजयी भएका छन्। उनले कांग्रेस एमाले समर्थन पाएका दलजित रोकालाई हराएका हुन्। २०७४ मा माओवादी केन्द्रका वीरबहादुर घर्ती विजयी भएका थिए।

दार्चुलाको अपीहिमाल गाउँपालिकामा नेकपा माओवादी केन्द्रका भगतसिंह ठेकरे बोहोरा विजयी भएका छन्। उनले धर्मानन्द सिंह मन्याललाई हराएका हुन्। २०७४ मा एमालेका धर्मानन्दसिंह मन्याल उक्त गाउँपालिकामा जितेका थिए। गाउँपालिका उपाध्यक्षमा कांग्रेसकी देविकादेवी बोहोरा निर्वाचित भएकी छिन्। त्यहाँ कांग्रेस र माओवादीको गठबन्धन भएको छ।

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा माओवादी केन्द्रका मेजरकुमार राई विजयी भएका छन्। उनले एमालेका राजकुमार राईलाई हराएका हुन्। २०७४ को स्थानीय तहमा पनि माओवादीले गाउँपालिका जितेको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal