आज :

युक्रेनको राजधानी पुग्यो रुसी सेनाः रुसले भन्यो- अमेरिकी पिछलग्गुसँग बार्ता हुँदैन

काठमाडौं । हमलाको २४ घण्टाभित्रै रुसी सेना युक्रेनको राजधानी केएभ पुगेको छ । रुसी सेनाको ट्यांकर केएभमा गुडेको भिडियो फुटेजहरु सामाजिक संजालमा सार्वजनिक भएका छन् ।

रुसी समाचारसंस्था इन्टरफ्याक्सका अनुसार रक्षा मन्त्रालयले आफ्नो फौजले किएभनजिकै अवस्थित एउटा प्रमुख हवाई मैदान नियन्त्रणमा लिएको बताएको छ ।

होस्टोमेल एअरफील्ड कब्जा गर्न २०० वटा हेलिकोप्टर र सैनिकहरूको एउटा टोली प्रयोग भएको बताइएको छ । रुसले किएभसँगको पश्चिमा सम्पर्क “अवरुद्ध भएको“ समेत बताएको छ ।

द न्युयोर्क टाइम्सका अनुसार शुक्रबार साँझ रूसी सैनिकहरू किएभ सहरको उत्तरी जिल्लामा आइपुगेका छन् । रुसी सेना राजधानी पुगेको स्वीकार गर्दै युक्रेनी अधिकारीहरुले सो क्षेत्रका मानिसहरूलाई सुरक्षित रहन आग्रह गरेका छन् । छिमेकी बेलारूसबाट पसेका रूसी सैनिकहरू किएभनजिक पुगेका हुन् ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध रोकेर वार्ताका लागि आह्वान गरेका छन् । उनको वार्ताको आह्वानलाई मस्कोले भने ठाडै अस्वीकार गरिदिएको छ ।

शुक्रबार मस्कोमा पत्रकार सम्मेलन गर्दै विदेश मन्त्री सर्जेई लाभरोभले आफूहरूले जेलेन्स्कीको सरकारसँग कुनै वार्ता र सम्झौता नगर्ने बताए।

पश्चिमाहरूको पिछलग्गु किएभको सरकारले आफ्नै नागरिकमाथि नरसंहार गरिरहेको उनको आरोप छ ।

यसैबीच रुसले बेलायती बिमानलाई प्रतिबन्ध लगाएको छ । यसअघि बेलायतले रुसको राष्ट्रिय ध्वजावाहकमाथि प्रतिबन्ध लगाएको थियो । त्यसको जवाफस्वरुप रुसले पनि प्रतिबन्ध लगाएको बताइएको छ । रुसले यूके सम्बद्ध विमानहरूलाई आफ्नो हवाई क्षेत्रमा उड्नमा प्रतिबन्ध गरेको छ ।

“यूकेसँग सम्बद्ध संस्था अथवा यूकेमा दर्ता भएका संस्थाको स्वामित्वमा रहेका,भाडामा लिइएका वा तिनीहरूबाट सञ्चालित सबै विमानहरूको रुसी हवाई क्षेत्रमा उडानमा प्रतिबन्ध लगाइएको छ” रुसी उड्डयन निकायले भनेको छ । यूकेका उड्डयन अधिकारीहरूले गरेका गैरमित्रवत् निर्णयको जबाफमा पछिल्लो कदम चालेको रुसले जनाएको छ ।

यसैबीच युक्रेनी सेनाद्वारा सबै उमेरका मानिसलाई भर्ती हुन आग्रह छ । नागरिकलाई हतियार दिने युक्रेनले बताएपनि भर्ती हुन स्वीकार गरिरहेका विवरण सार्वजनिक भएसँगै युक्रेनको रक्षा मन्त्रालयले उमेरको वास्ता नगरी सबैलाई सेनामा भर्ती हुन भन्दै पुनः ट्वीट गरेको छ ।

रुसले २४ घण्टामा ३३ वटा गैरसैनिक स्थलमा बमबारी गरेको युक्रेनी आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीले जनाएका छन् । रुसी सेनाले दर्जनौँ गैरसैनिक स्थललाई निसाना बनाइरहेको जनाएको छ । त्यसलाई रुसले अस्वीकार गर्दै आफ्नो सेनाले गैरसैनिक इकालकामा हमला नगरेको बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal