काठमाडौँ । नेपाल पत्रकार महासंघले भारतको पतञ्जली योग पिठले नेपालमा टेलिभिजन च्यानल सञ्चालन गर्नु प्रचलित कानुनको ठाडो उलंघन भएको बताएको छ । महासंघका महासचिव रोशन पुरीले आइतबार विज्ञप्ति जारी गर्दै नेपालको प्रचलित कानुनले समेत सञ्चारमाध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा पतञ्जली योग पिठले टेलिभिजन खोल्नु नेपालको प्रचलित कानुनको ठाडो उल्लंघन बताएको बताएको हो ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले विदेशी लगानी खुल्ला नगरिएका उद्योग वा व्यवसायको सूचीमा आमसञ्चारमाध्यमहरूलाई राखेको कानुनी प्रवन्धप्रति महासंघले ध्यानाकर्षण समेत गराएको छ । दर्ता प्रक्रियासमेत पूरा नगरी टेलिभिजन सञ्चालन गर्न लागिएकाले महासंघ सम्बन्धित पक्षलाई राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियामावली २०५२ र प्रसारणसम्बन्धी निर्देशिका समेत महासंघले स्मरण गराएको छ ।
“स्वदेशी सञ्चारमाध्यमको व्यावसायिकतामाथि आँच पुग्ने गरी आएको सञ्चार क्षेत्रमा विदेशी लगानीले नेपालको राष्ट्रियता, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पार्न सक्ने प्रभावप्रति सबै गम्भीर र संवेदनशील हुन आवश्यक रहेको निष्कर्ष महासंघको छ” विज्ञप्तिमा भनिएको छ ।
महासंघले कानुनविपरित सञ्चार क्षेत्रमा विदेशी लगानी रोक्न र स्वदेशी लगानीका सञ्चारमाध्यमलाई प्रतिस्पर्धात्मक तथा व्यावसायिक रूपमा विकास गर्ने वातावरण निर्माण गर्न नेपाल सरकारसँग माग समेत गरेको छ ।
यसैबीच दर्ता नगरी पतञ्जली आयुर्वेदले नेपाल टेलिभिजन प्रसारण गरेको समाचार सार्वजनिक भएसँगै सूचना तथा प्रसारण विभागले प्रसारणले छानविन थालेको छ । विभागले छानविन समिति गठन गरेको टोली आइतबार टिभी च्यानल कार्यालय मण्डिखाटारस्थित पतञ्जली नेपालमा पुगेको छ ।
छानविन समितिले सोमबार प्रतिवेदन सार्वजनिक गर्ने बताइएको छ । विदेशी लगानीमा टिभी संचालन हुने देखिए दर्ता अनुमति नदिने विभाग स्रोतले बताएको छ ।
आमसंचार क्षेत्रमा विदेशी लगानीलाई बन्देज लगाएको थाहा पाउँदापाउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले दर्ता नभएका टिभी च्यानलनको उद्घाटन गरेका थिए ।