काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजिनामा माग्नु ठिक नभएको बताएका छन् । सत्तारुढ दलकै नेताहरु र निकट कानुन व्यवसायीहरुले जबराको राजिनामा मागिरहेको बेला अध्यक्ष नेपालले भने बचाउ गरेका छन् ।
आफूहरुको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै बारले बहस पैरवीलाई बहिस्कार गर्ने घोषणा गरेकै दिन अध्यक्ष नेपाललको पछिल्लो भनाले तरंग ल्याएको छ । सत्तारुढ दल निकटकै कानुन व्यवसायीहरुले जबरालाई हटाउन शिर्ष नेताहरुसँग माग गरिरहेका छन् । तर, अध्यक्ष नेपालले भने संसद पुनर्स्थापनाको फैसला गरेर राम्रो काम गरेको भन्दै प्रधानन्यायाधीशको प्रशंसा गरेका छन् ।
अध्यक्ष नेपालले न्यायालयका बारेमा जहाँ पायो त्यहीँ कुरा गर्न नहुने भन्दै न्यायालय समवेदनशील निकाय भएको बताए । उनले न्यायालयमा देखिएको समस्या हल गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रयास गरिरहेको हुनसक्ने बताए । तर न्यायालयको बारेमा पाँच दलीय गठबन्धनभित्र यस विषयले प्रवेश नपाएको नेपालको भनाइ छ ।