
काठमाडौँ । ‘राजनीतिमा जे पनि हुन सक्छ, असम्भव भन्ने कुरा केही पनि छैन’ नेपाली भनाई फेरि एक पटक पुष्टि भएको छ । नेपाली राजनीतिमा सकारात्मकभन्दा पनि नकारात्मक सन्देश दिने कुराहरु सम्भव हुँदै गएका आएका छन् । त्यस्तै घटना हो, मेडिकल व्यापारी दुर्गा प्रसाईको एमालेमा प्रवेश ।
गोदावरीमा सम्पन्न महाधिवेशनका प्रतिनिधि भएका प्रसाई आइतबार एमाले प्रवेश गरेका छन् । पार्टी सदस्यता नलिएरै विधान महाधिवेशन प्रतिनिधि भएको खुसाला पनि भएको छ ।
आइतबार एमाले प्रवेशपछि बल्ल पार्टी सदस्यता लिएको बताइएको छ । एमालेले पार्टी सदस्यता नदिएरै वा औपचारिक रुपमा पार्टीको कार्यकर्ता नभएर महाधिवेशन प्रतिनिधि बनाएर गलत अभ्यास गरेको छ । यसको नेपाली राजनीतिमा नकारात्मक प्रभाव पर्ने विश्लेषण हुन थालेको छ ।
‘मेडिकल माफिया’ को रुपमा चिनिँदै आएका प्रसाई माओवादी केन्द्रबाट झापामा एक कार्यक्रमबीच एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड निकट मानिने बीएण्डसी अस्पतालका संचालक प्रसाईंलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेशसँगै कार्यक्रममा बोल्दै प्रसाईँले प्रचण्ड र जनता समाजवादी पार्टी नेपाल, जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको चर्को आलोचना गरे । प्रसाईंले दुवैलाई कम्युनिस्ट भन्न लाज लाग्ने बताए । जबकी बाबुराम आफैले कम्युनिस्ट विचार परित्या गरिसकेका छन् । अहिलेकै अवस्था देख्नकै लागि क्रान्ति गरिएको भन्दै प्रचण्ड–बाबुरामलाई प्रश्न समेत गरे ।
एमाले कार्यकर्ताले ओलीलाई ‘बा’ भन्थे तर प्रसाईँले हजुरबुबा भने । उनले ओलीलाई सिंगापुरका निर्माता ली क्वान यू र मलेसियाका नेता महाथिर मोहम्मदसँग तुलना गरे ।
एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको पूर्वसन्ध्यामा प्रसाईँले ओली र प्रचण्डलाई आफ्नो घरमा मार्सीको भात खुवाएको निकै चर्चा भएको थियो । उक्त फोटा सामाजिक संजाल र संचारमाध्यमहरुमा अहिले पनि चर्चा हुन्छ । ओली र प्रचण्डलाई प्रभावमा पार्न खोजेको भन्दै उनको आलोचना हुँदै आएको थियो ।