
सुर्खेत । मुगुमा भएको बस दुर्घटना परी ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस हिजो दिउँसो १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटनामा परेको थियो ।
प्रदेश प्रहरीका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा ज्यान गएको हो ।
ज्यान गुमाउनेमा नेपाल कम्युनिस्ट पार्टी निकट कलाकार सम्भसहित २२ जना पुरुष र १० जना महिला छन् । घाइते ११ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
दशैंको बेला यसैगरी मुगु, अछाम, कास्कीमा भएका दुर्घटनाले देश नै शोकमा छ । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सवारी दुर्घटनामा मृत्यु भएकाका परिवारलाई उचित राहत दिने र घाइतेको सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् ।
मुगु, कास्की र अछाममा भएका दुर्घटनाले आफू स्तव्ध भएको बताउँदै प्रधानमन्त्री देउवाले सामाजिक सन्जालमा लेखेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु । दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्नेछ ।’
प्रधानमन्त्री देउवाले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् ।
यसैगरी सोमबार कास्कीमा आठ जना र अछाममा चार जनाको मृत्यु भएको थियो ।