
काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोली काठमाडौँ पुगेर राजनीतिक भेटको तयारीमा छ । सुमारसँगै एमसीसीकै सहायक उपाध्यक्ष जोनाथन ब्रक्ससहितको टोली आज विहान काठमाडौँ पुगेको थियो ।
उपाध्यक्ष सुमारको पहिलो राजनीतिक भेट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग तय भएको छ । सुमार ओलीलाई भेट्न आजै ओली निवास बालकोट पुग्ने भएकी छन् ।
थप भेटघाट भोलि शुक्रबारबाट तय भएका छन् । स्रोतका अनुसार शुक्रबार नेकपा (माओवादी केन्द्र) प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भटटराईलगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट पनि शुक्रबार ४ बजे तय भएको छ । त्यस्तै, अर्थमन्त्री जनादर्शन शर्मासँग पनि शुक्रबार नै भेटवार्ता गर्ने तय भएको बाइएको छ ।
यसैबीच फतिमाको नेपाल भ्रमणलाई लिएर विरोध प्रदर्शन पनि भइरहेका छन् । एमसीसी नेपालको हितमा नभएको भन्दै विरोध गरिरहेका नागरिक अगुवाहरुले त्रिभुवन विमानस्थल बाहिर नाराबाजी गरेका थिए ।
विरोध प्रदर्शनमा उत्रिएका अगुवा तथ अधिवक्ता स्वागत नेपालसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।