काठमाडौं । असोज १ गतेबाट काठमाडौं जिल्लामा शैक्षिक संस्थाहरुले भौतिकरुपमा संचालन गर्न पाउने भएका छन् । सोमबार काठमाडौँ जिल्ला प्रशासन र सरोकारवालाहरुबीचको बैठकले स्थानीय तहमा कोरोना संक्रमण र जोखिमको अवस्थाबारे जानकारी लिने र त्यस आधारमा विद्यालय खुलाउन अनुमति दिने निर्णय गरेको छ ।
भदौ मसान्तसम्म स्थानीय तहका शिक्षा शाखाले कोभिड–१९ संक्रमणको अवस्था, शिक्षक–कर्मचारीले खोप लगाए नलाएको विवरण र विद्यालय सञ्चालनको ढाँचा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मा पेश गर्ने बैठकले निर्णय गरेको छ ।
काठमाडौं सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालका अनुसार डीसीसीएमसीले अवस्था हेरेर असोज १ गतेबाट भौतिक रुपमा शैक्षिक संस्थाहरु संचालन गर्न अनुमति दिन सक्नेछ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारी, काठमाडौंका स्थानीय तहका शिक्षा समितिका अधिकृत, जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख, सुरक्षा अधिकारी र अभिभावकका प्रतिनिधिसहित बैठक बसेको थियो । सम्बन्धित स्थानीय तहबाट कोभिड–१९ संक्रमणको अवस्था र विद्यालय सञ्चालनको ढाँचा आएपछि मात्रै विद्यालय खुला गर्ने अनुमति पाउने भएपनि अनिवार्य नभएको बताइएको छ ।