काठमाडौँ । श्रमजीवी-पत्रकार संघ, नेपालले कान्तिपुर मिडिया ग्रुपलाई त्यहाँ देखिएका श्रम समस्या यथाशीघ्र हल गर्न चेतावनी दिएकाे छ । श्रमजीवी-पत्रकारहरूलाई कोभिड-१९ महामारी सुरु भएको २०७७ वैशाखदेखि हतोत्साहित गर्दै गैरकानुनी रूपमा बेतलबी बिदामा राखेको कामबाटै निष्कासन गर्ने ध्येयले दरबन्दी नै नरहेका अपायक स्थानमा सरुवा गरिएकोप्रति विमति राख्दै आइतबार पब्लिकेसन्सको कार्यालयमा एक ध्यानाकर्षण पत्र बुझाउँदै साे चेतावनी दिइएको हाे।
संघका अध्यक्ष जन्मदेव जैसी र महासचिव धनञ्जयद्वारा हस्ताक्षरित साे पत्रमा कारणबस श्रमजीवी-पत्रकारको संख्या बढी भएको छ भने उनीहरूलाई सौहार्दपूर्ण तरिकाले सुविधासहित बिदा गर्नुपर्नेमा अपमान गर्ने कार्य कदापि कान्तिपुरजस्तो प्रतिष्ठित सञ्चार गृहका लागि शोभनीय नभएको जनाएको छ ।
कानुनले तोकेअनुसारका सेवा सुविधा पाउनुपर्ने माग गरेर न्यायिक प्रक्रियामा जाने श्रमजीवी-पत्रकारलाई जबर्जस्ती कामबाट निकाल्ने षड्यन्त्रस्वरूप सरुवा गर्नु न्यायसंगत नदेखिएको पत्रमा दाबी गरिएको छ । कान्तिपुरमा कार्यरत पत्रकार यदुप्रसाद पोख्रेल र लक्ष्मीनारायण निरौलालाई सरुवा गरिएको पत्र थमाइएको र तोकिएको स्थानमा हाजिर हुन किन नगएको भन्ने स्पष्टीकरण सिधै प्रतिशोधपूर्ण रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
‘वैशाख १६ गतेदेखि लगातार भएको लकडाउनका कारण तोकिएको स्थानमा जान सम्भव नभएको अवस्थामा २०७८ वैशाख २० गते तोकिएको स्थानमा हाजिर हुन किन नगएको भनेर २०७८ असार २७ गते स्पष्टीकरण पत्र लेख्नुमै बेइमानीको पराकाष्ठा देखिन्छ,’ पत्रमा भनिएको छ, ‘तलब भत्ताबाट वञ्चित गराउने अनि अधिकार खोजेबापत सरुवाको पत्र थमाएको स्पष्ट देखिन्छ ।’ पब्लिकेसन्सले कार्यरत श्रमजीवी-पत्रकारको समय-समयमा सरुवा गरिने दाबी गर्ने हो भने पोख्रेल र निरौलाभन्दा पहिले नियुक्ति पाएकाहरूलाई पहिले सरुवा गर्नुपर्ने संघका अध्यक्ष जन्मदेव जैसी र महासचिव धनञ्जय बुढाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
‘त्यस्तै विराटनगर क्षेत्रीय कार्यालयमा मेसिन अपरेटरका रूपमा कार्यरत चित्रबहादुर भुजेललाई २०७७ वैशाखमा बेतलबी बिदामा बस्न भनेदेखि हालसम्म काममा फर्काइएको छैन,’ पत्रमा भनिएको छ, ‘क्षेत्रीय कार्यालय विराटनगर र भरतपुरमा पनि यस्तै हर्कत भएका सूचना प्राप्त भएका छन् । साथै नेपालगन्जमा केही समय प्रकाशन बन्द गरी श्रमजीवी-पत्रकारहरूलाई कामबाट वञ्चित गराइएको छ ।’
हाल प्रकाशन सुचारु भए गरिए पनि सबै श्रमजीवी-पत्रकारहरूलाई काममा बोलाइएको पत्रमा उल्लेख छ । त्यस्तै विश्व नै कोभिड-१९ बाट पीडित भएको समयमा श्रमजीवी-पत्रकारमाथि काम र दामको अभावमा भोकै मर्ने अवस्था सिर्जना गरिनु न्यायपूर्ण कार्य हुन उल्लेख गर्दै २०७७ वैशाखदेखि हालसम्म रोकिएको बाँकी तलब-भत्ता एक साताभित्र भुक्तानी गर्न र प्रतिशोधपूर्ण सरुवा बदर गर्न अनुरोध गर्दै अन्यथा श्रमजीवी-पत्रकार संघ, नेपाल कडा कदम चाल्न बाध्य हुने पत्रमा जनाइएको छ ।