काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सुर्खेतको बैठक सम्पन्न भएको छ । जिल्ला सेक्रेटरी ध्रुवको अध्यक्षमा सम्पन्न बैठकले जनसम्बन्ध सुदृढ बनाउन डेढ महिने संगठन सुदृढ अभियान संचालन गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले गाउँ नगर भेला तथा सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको सेक्रेटरी ध्रुवले अनलाइन डबलीलाई जानकारी दिए ।
विप्लव नेतृत्वको नेकपा सुर्खेतको बैठकले पार्टीको सम्पर्क कार्यालय स्थापना गर्ने, विभिन्न राजनीतिक पार्टी, कर्मचारी, बुद्धिजीवी, पत्रकार, मानव अधिकारकर्मीसँग जनमतसंग्रह लगायतका विषयमा बहस तथा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।
जिल्लाको १६ औं पूर्ण बैठकलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रविले अहिलेको व्यवस्था सबै हिसाबमा असफल सिद्ध भएको बताउँदै राष्ट्रवादी, परिर्वन तथा अग्रगामी शक्तिहरुबीच वैज्ञानिक समाजवादी व्यवस्थाको लागि एकजुट हुनेपर्ने बताए । उनले यो व्यवस्थाबाट जनताको सेवा नहुने पुष्टि भइसकेकोले संसदवादी पार्टीहरु जनमतसंग्रहबाट वैज्ञानिक समाजवादी व्यवस्थाको लागि तयार हुनुपर्ने समेत बताए ।
इन्चार्ज रविले आफ्नो पार्टी र अघिल्लो सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्नु पर्नेमा जोड दिए ।
त्यसैगरी बैठकमा जिल्ला सेक्रेटरी ध्रुवले अहिलेको व्यवस्थाले लुटेरा, दलाल, माफियाको पक्षमा काम गर्ने गरेको भन्दै आफ्नो लुटको सत्ता जोगाउन संसदवादी पार्टीहरुले सरकारमा जाने र ढाल्ने खेलमा रहेको बताए । उनले यही व्यवस्थामा सरकारमा जो गएपनि लुटिखाने वर्गको सेवा गर्ने बताए ।
साउन १६ गतेबाट सुरु भएको बैठक दुई दिन चलेको थियो ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          







