काठमाडौँ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेर दार्चुलाबासी जय सिंह धामीलाई महाकाली नदीमा खसालेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले आज देशभर विरोध प्रदर्शन गर्दैछ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज (शनिबार) दिउँसो ३ बजे काठमाडौँको शान्ति बाटिकामा विरोध प्रदर्शनको आयोजना गरेको छ ।
त्यसैगरी नेकपाले भारतीय दादागिरीविरुद्ध विरोध प्रदर्शनसहितका संघर्षका कार्यक्रम घोषणा गरेका छन् । नेकपा निकट अखिल क्रान्तिकारीसहित जनवर्गीय संगठनहरुले विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरुले जय सिंह धामीलाई महाकालीमा खसालेर ह त्या गरेको भन्दै दोषीलाई कडा कारवाहीको माग समेत गरेका छन् ।
दार्चुलाको व्यासका जयसिंह धामीले भारतको उत्तराखण्ड राज्यमा पर्ने पिथौरागढ जान तुइन तर्दै गर्दा एसएसबीले तुइनको तार काटिदिँएको थियो ।
एसएसबीले तुइनको तार काटेपछि धामी महाकाली नदीमा खसेर हराइरहेका छन् । दार्चुला प्रहरीका अनुसार घटना शुक्रबार विहान साढे ८ तिर घटेको थियो । धामी दार्चुला जिल्लाको व्यास गाउँपालिका २ माल भन्ने स्थानबाट पिथौरागढ जान तुइनको प्रयोग गरेका थिए । धामीसहित पाँच जना युवा भारततिर जाँदै थिए । चार जनाले धामी भन्दा पहिले तुइन तरिसकेका थिए । माल बस्ने ३० वर्षीय धामीले तर्दै गर्दा एसएसबीका २ जवानले तुइन काटेका थिए । तुइन तरेर भारततिर पुगेका चारै जना दार्चुला फर्र्किएका छन् ।
पिथौरागढ जोड्ने अस्थायी तुइनको तार काटिएको अवस्थामा फेला परेको दार्चुला प्रहरीले जनाएको छ । जयसिंहसहित पाँचै जना तुइन तरेर भारतको बाटो हुँदै दार्चुला सदरमुकाम आउदै गरेको व्यास गाउँपालिका अध्यक्ष दीलिपसिंह बुढाथोकी बताउँछन् । भारतको बाटो हुँदै दार्चला आउन छोटो हुने भएकोले सो क्षेत्रका बासिन्दा उक्त बाटो प्रयोग गर्दै आएका थिए । उनीहरु कामको खोजी गर्दै दार्चुलाबाट काठमाडौँ आउँदै थिए ।
एसएसबीले तुइन काटेको समाचारसँगै नेपालका राजनीतिक पार्टी, स्थानीयबासीको साथै सामाजिक संजाल प्रयोगकर्ताहरुले भारतविरुद्ध तीब्र आक्रोस व्यक्त गरेका छन् । भारतका दादागिरीको उनीहरुले विरोध गरेका छन् ।