
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय निर्माण कार्यमा काठमाडौँ महानगर समितिले श्रम सहभागितासहित सहयोग गरेको छ ।
नेकपाको काठमाडौँ जिल्ला समिति अन्तरगत काठमाडौँ महानगर समितिका इन्चार्ज अबिरल चन्दको नेतृत्वमा नेता कार्यकर्ताहरुले बुधबारदेखि श्रम गरिरहेका छन् । ललितपुरमा निर्माणाधिन कार्यालय पार्टीकै श्रमद्वारा निर्माण भइरहेको छ ।
इन्चार्ज अबिरल चन्दका अनुसार काठमाडौँ महानगरबाट श्रमको लागि गएको टोलीले आज पनि श्रम गरिरहेको छ । तोकिएको कोटाभन्दा आफूहरुले दोब्बरले श्रम गर्ने नेकपा महानगर समितिले जनाएको छ ।
त्यसैगरी केन्द्रीय कार्यालय निर्माणमा भइरहेको व्यवस्थापनलाई सहजीकरण गर्न खाद्यन्नलगायतका सामाग्री पनि महानगर समितिले सहयोग गरेको छ । निर्माण कार्यको व्यवस्थापनको जिम्मा पाएका भीमसेन घिमिरेलाई महानगर इन्चार्ज अबिरलले बुधबार सहयोग सामाग्री हस्तान्त्रण गरेका छन् ।
इन्चार्ज अबिरल चन्दले दिएको जानकारी अनुसार दाल, चिउरा, प्याक माक्स, दालमोट, तेल, मस्यौरा, चाउचाउ, नुन, बिस्कुट, चिनी, जिरा, बेसारलगायतका सामाग्री हस्तान्त्रण गरिएको छ । श्रममा सहभागी हुने र सहयोग जुटाउन खटिएका नेता कार्यकर्तालाई नेकपाले आभारसहित धन्यवाद व्यक्त गरेको छ ।