![](https://onlinedabali.com/wp-content/uploads/2020/07/ktm-e1595988833513.jpg)
काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा साउन १० गतेसम्म लम्बिएको छ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरेको हो ।
थप गरिएको निषेधाज्ञामा बाहिरबाट आउने र जाने लामो दुरीका सवारी साधानमा पनि खुकुलो गर्ने निर्णय गरेको छ । तर, आवश्यक परेका सार्वजनिक यातायातलाई उपत्यकामा प्रवेशका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिस चाहिने बताइएको छ ।
विहीबार काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रेमप्रसाद भट्टराई र ललितपुरका ढुण्डीप्रसाद निरौलाको बैठकले बाहिरबाट आएका सार्वजनिक सवारीलाई काठमाडौं उपत्यका प्रवेशमा खुकुलो गरिने निर्णय गरिएको हो ।
बैठकले भिडभाड गर्न नपाउने र एक पटकमा २५ जनासम्म भौतिक दुरी कायम गरेर परिक्षा सञ्चालन गर्न पाउने यसअघिको निर्णयलाई निरन्तरता दिइएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप २ हजार ६७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ७६८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७८२ र एन्टिजेन विधिबाट ८९४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका थप १ हजार ७५७ जना निको भएका छन् भने ३३ जनाको ज्यान गएको छ । योसँगै मृतकको संख्या ९ हजार ४६३ पुगेको छ ।
नेपालमा अहिलेसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ६२ हजार ५७० पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४६ हजार ८६७ जना पुगेको छ । निको हुनेको कुल संख्या ६ लाख २६ हजार ४६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।