
काठमाडौं । नेपाली काँग्रेसका शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिलो चरणमा नेकपा माओवादी केन्द्रले दुई जना मन्त्री पठाउने भएको छ । देउवाले आज साँझ ६ बजे शपथ लिँदैछन् । त्यसपछि उनले बढीमा चार जना मन्त्रीलाई नियुक्त गरी आजै शपथ खुवाउने देउवाले तयारी गरेका छन् ।
मन्त्रीको नाम टुंगो लगाउन आज विहान माओवादी केन्द्रको बैठक बसेको थियो । देउवासँग छलफल गरेर मन्त्री पठाउने जिम्मा अध्यक्ष प्रचण्डलाई बैठकले दिएको थियो । माओवादी स्रोतका अनुसार प्रचण्डले स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ र नेतृ पम्फा भुसाललाई पहिलो चरणमा मन्त्रीमा पठाउने भन्दै देउवालाई नाम टिपाएका छन् । शर्मा अर्थ र भुसाल उर्जा मन्त्री बनाउने देउवा र प्रचण्डबीच सहमति भएको बताइएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोहीअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।
सर्वोच्चले प्रतिनिधिसभा बैठक बोलाउन पनि आदेश दिएको छ । अब नयाँ बन्ने सरकारको सिफारिसमा भण्डारीले प्रतिनिधिसभाको बैठक आह्वान गर्ने छिन् ।
आज बालुवाटार छोड्नुअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले गरेका कामहरुको जानकारी गराएका थिए । उनले आफ्नो सरकारले खोप अभियान सुरु गरेपनि अब नयाँ बन्ने सरकारले फोटो खिचाएर खोप लगाएको नाटक गर्ने समेत दाबी गरे । उनले आफ्नै पार्टीका नेताको गद्धारीका कारण सरकार ढलेको बताए ।
ओलीले सर्वोच्चले प्रधानमन्त्री नियुक्त गर्न दिएको आदेशलाई अस्वभाविक भएको भन्दै यसको असर इतिहाससम्म पर्ने दाबी गरे ।