
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’को शिर्घ स्वास्थ्यलाभको कामना गरेका छन् ।
आज विहान नेता सुदर्शनसँग फोनमा कुरा गर्दै विप्लवले वहाँको स्वास्थ्यलाभको कामना गरेका हुन् । मुटुको समस्याका कारण सहिद गंगालाल हृदय केन्द्रमा नेता सुदर्शनको उपचार भइरहेको छ । आजै उहाँको स्वास्थ्य अवस्था गम्भीर भएपछि सिसियुमा उपचार भइरहेको छ ।
इको जाँचका क्रममा रिपोर्टमा डिसेवल देखाएपछि आइतवारदेखि सिसियुमा उपचार थालिएको छ । ‘सुदर्शन’ लाई साइलेन्ट ‘हर्ट–अट्याक’ भएपछि गत गत शुक्रवार अस्पतालमा भर्ना गरिएको थियो । सुगर, प्रोस्टेट, कोलेस्ट्रोल, प्रेसर र मुटुरोगबाट पीडित सुदर्शन लामो समयदेखि औषधी सेवन गरिरहेका थिए । एक हप्ता अगाडि नै स्वास्थ्यमा समस्या देखिएपछि कारागारमै स्वास्थ्य जाँच भएको र गंगालाल हृदय केन्द्रमा कारागारका डाक्टरले रिफर गरेको थियो ।
नेता सुदर्शन जनयुद्ध कालमा ३ वर्ष र पछिल्लो प्रतिबन्दको समय यता २ वर्ष ४ महिनादेखि जेल जीवन विताइरहेका छन् । सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगर्दा नेता सदर्शनसहित दर्जनौं नेता कार्यकर्ता जेलमै छन् । नेकपाले सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ ।