काठमाडौँ । आज देशभरको मौसम बदली भइरहेको छ । काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा वर्षा सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको छ ।
त्यसैगी प्रदेश– १ र २ मा सामान्यदेखि मध्ययम पानी परिरहेको र दिउँसोपछि देशका धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो र राति प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आउँदो तीन दिनसम्म नै देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी समेत पर्ने सम्भावना रहेको छ। पहाडी भू–भागमा पहिरो तथा नदीमा पानीको बहाव बढ्ने भएकाले बाढीको जोखिम हुने भन्दै सचेत रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच झापाको चन्द्रगढी विमानस्थल आसपासमा धेरै पानी परेको र थप पानी पर्ने सम्भावना रहेकोले सचेत रहन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।
चन्द्रगढी विमानस्थलमा रहेको वर्षामापन केन्द्रको विवरण अनुसार पछिल्लो १२ घण्टामा झण्डै एक सय ५२ मिलीमिटर पानी परिसकेको र अझै पानी पर्ने सम्भावना रहेको शाखाले जनाएको छ । बढी पानी पर्दा झापाका डुबान भइरहने होचा ठाउँहरुमा सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ ।