आज :

सस्मरण: दमिनी बज्यैले दूध पिउँदा ‘भैंसी रुख चढेन’

मेरो बुवा पहिल्यैदेखि जातीय भेदभावको कट्टर बिरोधी नै हो ।मैले उहाँले कहिल्यै छुवाछूत गरेको थाहा पाइन। आमामा अलिकति जातीय भाव थियो । तर समय सँगसँगै सकारात्मक परिवर्तन हुँदै थियो । मेरो हाइस्कुल, कलेजका सहपाठी आउँदा उहाँले कहिल्यै भेदभाव गर्नुभएन, सबैलाई सँगसँगै भान्सामै राखेर खुवाउनु भो । यत्तिसम्म म मान्छु तर बिहेबारी नै त छोराछोरीले अलि नगरुन भन्ने बिचार चाहिँ आमामा थियो । मेरो बुढी हजुरआमा कट्टर बाहुनबादी हुनुहुन्थ्यो। उहाँले मेरो बुवालाई ‘उडुवा’ नाम दिनुभएको थियो । उहाँ जीबनको लामो समय सम्मै स्वयं पाक्य हुनुहुन्थ्यो तर मृत्युको २ बर्ष अगाडिबाट आमाले पकाएको खान थाल्नुभो। हाम्रा घरमा दुई भान्सा थिए र हजुर आमाको भासामा हाम्रो भन्सालाई ‘कुखुरे भान्सा’ यस्ततस्तै भन्नुहुन्थ्यो।

हाम्रो गाउँमा बाहुन, क्षेत्री, नेवार, दलित आदिको मिश्रीत बस्ती थियो । सबै लगभग मिलेरै बसेका थिए। उल्लेख्य भेदभावको घटानाहरु हुन्थेन, सायद सानोतिनो थिचोमिचोलाई दलित समुदायले सहिदिन्थ्ये। हाम्रो गाउँका परियार खलकले मेरो हजुर आमालाई माइली आमा भन्थे। हाम्री हजुर आमाले परियार खलकलाई माया नै गर्नुहुन्थ्यो, घरको अन्न र फलफुल आदि पनि बाड्ने नै चलन थियो । तर, छोईछिटो चाहिँ कडा थियो । म ६–७ बर्षको थिए होला, त्यतिखेर परियार, नेपाली, सार्की, बिक सबै कहाँ गएर खाजा र पानी सबै ग्रहण गरिन्थ्यो। उनिहरुले दिँदा बखत ‘महादीप, तिम्रो बुवाले त हामी कहाँ सबै कुरा खानु हुन्छ,तर हजुर आमालाई नभन है’ भन्थ्ये। म चाहिँ घर आएर सबैभन्दा पहिल्यै हजुर आमालाई यहाँ गए, यो यो खाए सबै भनिदिन्थ्ये। उहाँले मलाई भन्नुहन्थ्यो, ‘तलाई बजिया बाहुनको छोरो भएर’ यत्ती मात्र भन्नुहुन्थ्यो, अरु केही भन्ने गर्नु हुन्थेन।

एक दिनको कुरा सम्झन्छु, गाउँकी दमिनी बज्यै लखतरान भएर हाम्रो घरमा आउनुभो । हजुर आमाले के भो ठूली, कता हराइस्, बिरामी भईस् कि ? भनेर सोध्नुभो। दमिनी बज्यैले ‘ज्वरो आयो माइली आमा, त्यही भएर सुतेको सुत्यै भएँ’ भन्नुभयो । त्यसपछि हाम्री बुढीमाउ (बज्यै) बाट आमालाई ‘ल त एक गिलास दूध तताएर ठूलीलाई दे त’ भन्ने निर्देशन जारी भो । आमाले एक गिलास दूध तताएर ल्याएपछि हजुर आमाले खै हेरु त भनेर गिलास तान्नुभो र भन्नुभयो ‘ल यस्मा अलिकति चियापत्ती र चिनी राखेर दे’ भन्नुभो। आमाले त्यसैगरी ल्याएर दिनुभो ।उक्त चियापत्ती र चिनी मिसिएको दूध पाएपछि दमिनी बज्यै बहुत अनुग्रहित हुँदै हाम्री माइली आमा त भगवान नै हुनुहुन्छ भन्दै पिउन थाल्नुभयो । यो सबै घटना नियालेर बसेको तत्कालीन टाठोबाठो म ६–७ बर्षे ठिटोलाई चाहिँ अचम्म लागिरहेको थियो। यी बुढीमाउले किन दूधमा चिनी र चियापत्ती राख्न लगाइन भन्ने परिरहेको थियो। दमिनी बज्यै गएपछि मैले सोधे, ‘किन दूधमा चिनी र चियापत्ती राखेको, बरु चिया नै खान दिएको भए भैहाल्थ्यो नि, यस्तो जाबो न दूध भयो, न चिया।’ अनि हाम्री हजुर आमा भन्नुहुन्छ, ‘बजिया पहुनीलाई दूध खान दियो भने भैंसी बिग्रन्छ, तेरो डाम्नो रुख चड्छ।’ ए यसो पो, बल्ल कारण पत्ता लाग्यो । त्यै भएर हो क्या हो हाम्रो घरको गुण्टा, लाटी, सुढे नाम गरेका भैंसी कहिल्यै रुख चढेको देखिन। अनि म दुब्लो, पातलोको साथै रुख चढ्न सिपालु पनि थिए। केटाकेटीमा दमाई, बिक, सार्कीको घरमा गएर खाजा पानी खाएको हुनाले रुख चढ्न सिपालु भैया हो कि जस्तो लाग्यो।

मैले यो सबै कुरा मेरो साथी रमेशलाई बताए । उसले र मैले भैंसी रुख चढ्छ कि चढ्दैन अनुसन्धान गर्ने निधो गरे । मेरो हजुर आमाले जसलाई न दूध न चिया खुवाउनु भएको थियो नि, हो उनिहरुको घरमा पनि एउटा भैंसी थियो। अब त्यो भैसीको दूध त उनिहरुले दिनदिनै खान्छन, त्यसैले उक्त भैंसी त काइदा तरिकाले अबश्य रुख चढ्छ होला, यदी चढेन भने हाम्री हजुर आमाले भनेको झुट भन्ने निर्क्यौल निकाल्यो हाम्रो दुई सदस्यीय आयोगले। बस बिदाको दिन जंगल गइयो, नहरमा नाङ्गै भएर पौडी पनि खेलियो। भैंसी चिन्न गाह्रो थिएन, रमेश र म गाउँभरका सबै बस्तुभाउ चिन्थ्यौ। बस, रमेशले भैंसीलाई रुख भएतिर लखेट्न थाल्यो, म पनि भैंसी रुख चढेको हेर्न पाइन्छ कि भनेर पछिपछि कुद्थे । रमेश चाहिँ भैसीलाई सालको रुख नजिकै पुर्‍याएर भैंसी जस्तै ‘आई ….’ गरेर कराउथ्यो तर अहं भैंसी रुख चढ्दै चढेन। उसले अन्तिम पटक एउटा क्यामुनोको रुखमा आफैँ चढेर स्याउला देखाउदै भैसीलाई रुख चढ्न उत्साह दियो तर भैंसी रुख चढेन। मैले ए होइन रहेछ भो छोड्देउ भने । दमिनी माइज्यु (हामी उनलाई माइज्यु भन्थ्यौं) आउनुभो मेरो भैंसी किन लखटेको बदमास् भान्जाहरु भन्न भन्दै आफ्नो भैंसी लिएर जानुभो । यसरी हाम्रो अनुसन्धान र प्रयोगले भैंसी रुख नचढ्ने प्रमाणित भयो।

बेलुका घर पुगेपछि मैले हजुर आमासँग दमाई, कामी आदिलाई दूध दिएर भैंसी रुख चढ्दैन, तपाईंले भनेको झुट हो भन्दिए। कसरी थाहा पाइस् भनेर हजार आमाले आँखा तरेर सोधेपछि मैले दिउँसो रमेशसँग मिलेर गरेको सबै कहानी बताइदिए । हजुर आमाले ‘उसो भए त पाजी उतै गएर तिनिहरु सँगै बस’ भन्नुभो । अरु केही भन्नु भएन र गर्नुभएन। म लगभग २७÷२८ को हुँदा उहाँ बित्नुभो । म चाहिँ त्यही ६÷७ बर्षे चेतना सँगसँगै लिँदै यो दुनियाँसँग पौठेजोरी खेलिरहेको छ।

  • कथमा उल्लेखित मेरो गाउँ ,तत्कालीन गितानगर गाउँ पन्चायत वडा नं ६ केशरबाग हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal