
मकवानपु । बागमती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि भाद्र १ देखि ७ गतेसम्म प्रदेशव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो ।
अभियानको उद्घाटन ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–१ मा कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले गर्ने कार्यक्रम तय भएको छ । यस वर्षको अभियानअन्तर्गत प्रदेशका १३ वटै जिल्लाका १ लाख २० हजार पशुलाई खोप लगाइने लक्ष्य राखिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. राम प्रकाश प्रधानले बताएका छन् ।
सबैभन्दा बढी चितवनमा ३० हजार, मकवानपुरमा २५ हजार, काभ्रेपलाञ्चोकमा १४ हजार, नुवाकोट र सिन्धुलीमा १२–१२ हजार, धादिङमा ११ हजार, ललितपुरमा १० हजार र दोलखामा ६ हजार डोज खोप पठाइने भएको छ । खोपको आपूर्ति संघीय सरकारले गर्नेछ भने खोप लगाउने खर्च बागमती प्रदेश सरकारले व्यहोर्नेछ ।
असार र साउन महिनामा मात्रै लम्पी स्किन रोगका कारण प्रदेशमा ७४ पशुचौपायाको मृत्यु भएको छ भने १ हजार ६३३ पशुमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । विशेष गरी मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा रोगको संक्रमण बढी देखिएको छ ।
यो रोग लागेपछि पशुको दुध उत्पादन २५ देखि ६५ प्रतिशतसम्म घट्ने गरेको छ । मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा ७१ हजार ९७७ पशुलाई र आर्थिक वर्ष २०८०÷८१ मा ४८ हजार ३६४ पशुलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको थियो। बागमती प्रदेशमा वार्षिक ४ लाख ८१ हजार ७ सय मेट्रिक टन दूध उत्पादन हुने गरेको छ ।
पत्रकार सम्मेलनमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव वैकुण्ठ अधिकारी पशु निर्देशनालयका निर्देशक गौरीमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।