
काठमाडौँ । नेपाली कांग्रेस ओली नेतृत्वको वर्तमान सरकार ढाल्न तयार भएको छ । संसदीय दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ढालेर नयाँ प्रधानमन्त्री बन्न तयार भएका छन् ।
योसँगै काँग्रेसको संस्थापन र (नेकपा)को प्रचण्ड–नेपाल समूहका नेताहरुले तीब्र रुपमा छलफल अगाडि बढाएका छन् । सभापति देउवाले आफू निकट पार्टीका नेताहरुलाई प्रचण्ड नेपाल समूहका नेताहरुसँग छलफल गर्न खटाइसकेका छन् ।
बुधबार चितवनमा एक सार्वजनिक कार्यक्रममै देउवाले प्रधानमन्त्रीको जिम्मा पाएँ पछि नहट्ने बताएका थिए । बुधबार पूर्वसांसद स्वर्गीय एकनाथ रानाभाटप्रति श्रद्धाञ्जली दिन आयोजित सभामा बोल्दै देउवाले परिस्थिति सिर्जना भए आफू सरकारको नेतृत्व गर्न तयार रहेको बताए । उनले कांंग्रेसलाई पदको लोभ नभएको तर, काँधमा आएको जिम्मेवारीबाट नभाग्ने बताए । “प्रधानमन्त्री पाऊँ, प्रधानमन्त्री पाऊँ भनेको पनि छैन । तर, जिम्मेवारी आयो भने भाग्नेवाला पनि छैन” देउवाले भने ।
त्यसअघि सोही कार्यक्रममा सहभागी हुन चितवन पुगेका पार्टी महामन्त्री शशांक कोइरालाले पनि प्रचण्ड नेपाल समूहसँग मिलेर सरकार नेतृत्व गर्न काँग्रेस तयार रहेको बताइसकेका थिए ।
सोही कार्यक्रममा सहभागी वरिष्ठ नेता रामचन्द्र पौडेलले भने काँग्रेसले सरकारमा जानु नहुने बताएका थिए । उनले जनताले काँग्रेसलाई पतिपक्षको जिम्मेवारी दिएको धारणा राखेका थिए । दुबै नेताबीच सार्वजनिक कार्यक्रममै घोचपेच समेत भयो । देउवाले कार्यक्रममै पौडेललाई सानो मन नगर्न आग्रह समेत गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेसँगै काँग्रेस दुई भागमा बाँडिएको थियो । देउवा मध्यावधिका पक्षमा उभिएका थिए भने पौडेलले संसद पुनर्स्थापनाका लागि आन्दोलनमा जोड दिए । सर्वोच्च अदालतको आदेशले संसद पुनर्स्थापना भएपछि देउवा र पौडेलबीच नयाँ सरकार गठनलाई लिएर विवाद सुरु भएको छ ।
काँग्रेसले सुरुमा (नेकपा)को विवाद नटुंगिएसम्म कुनै पक्षलाई साथ नदिने निर्णय गरेको थियो तर संसद बैठक बस्ने दिन नजिकिँदै गर्दा काँग्रेस ओलीलाई ढालेर सरकारको जिम्मा लिन तयार भएको छ ।
यसैबीच भावी समीकरणलाई लिएर मंगलबार बिहान मीनेन्द्र रिजालले माधवकुमार नेपाललाई भेटेपछि साँझ नेपालनिकट नेता सुरेन्द्र पाण्डद्वारा निवासमै पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतबीच पनि छलफल ।