 
	
काठमाडौं । संसद् विघटनविरुद्ध परेका रिटमा अदालतका सहयोगी (एमिकस क्युरी) ले राय दिन सुरु गरेका छन् । मंगलबार एमिकस क्युरी तोकिएका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले दुषित मनसायका साथ प्रतिनिधिसभा विघटन गरेको राय सुनाएका छन् ।
संवैधानिक इजलासमा रिटका पक्ष र विपक्ष कानुन व्यवसायीको बहस सकिएपछि मंगलबारबाट एमिकस क्युरीले राय दिन सुरु गरेका हुन् । सर्वोच्च अदालतले पाँच जनाको एमिकस क्युरी गठन गरेको थियो । पहिलो दिन कार्कीले प्रधानमन्त्री ओलीले संसद् विघटन गर्न नसक्ने राय दिएका छन् ।
निर्वाचनमार्फत जनताबाट चुनिएका प्रतिनिधिबाट संसद बनेको र त्यही संसदले प्रधानमन्त्री बनाएको भन्दै प्रधानमन्त्री संसदप्रति जबाफदेही बन्नुपर्ने भन्दै कार्कीले भने, ‘अदालतले चिन्ने भनेको उहाँ संसदप्रति जवाफदेही हुनुपर्छ भन्ने हो तर प्रधानमन्त्रीले पार्टीको झगडा ल्याएर संसद विघटन गरेको देखियो’ कार्कीले भने ।
पार्टीको विवादका कारण संसद विघटन गरिएको बताउँदै कार्कीले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक भएको राय पेश गरे । संसदीय व्यवस्थामा विघटनको अधिकार हुने भएपनि ओलीले गैरसंवैधानिक उद्देश्य राखेर विघटन गरिएको कर्कीले बताए ।
इजलासले कार्कीलाई दुई दिनभित्र आज गरेको बहसको नोट बुझाउन पनि भनेको छ ।
विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा एमिकस क्युरीले मंगलबारदेखि राय दिन थालेको हो । बुधबारदेखि बाँकी ४ जनाले क्रमश: राय दिनेछन् ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          




