
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीको स्वास्थ्यमा सुधार भइरहेको छ । हृदयाघातपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालको मनमोहन कार्डिर्योलोजी विभागमा उपचाररत शाही होसमा रहेको पारिवारिक स्रोतले जनाएको छ ।
नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष समेत रहेका शाहीलाई आइतबार राति ११ बजे हृदयाघात भएको थियो । त्यसलगत्तै अस्पताल पुर्याइएको थियो । उनको मध्यराति नै अप्रेशन गरिएको थियो ।
अप्रेशन सफल भएपछि खतरामुक्त रहेका शाहीको अहिले स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । होसमा आउनुको साथै सामान्य अवस्थामा फर्किदैछन् । तर अझैं केही दिन चिकित्सककै निगरानीमा राखेर उपचार गर्नुपर्ने अस्पतालले जनाएको छ ।
नेता शाही संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली काँग्रेसले घोषणा गरेका विरोधका कार्यक्रममा सक्रिय सहभागी भइरहेका थिए । पार्टीको युवा संगठनलाई विरोधका कार्यक्रममा परिचालन गरिरहेका थिए ।