
काठमाडौं । आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई पनि कोरोना खोप लगाउन सुरु भएको छ । फागुन २ गतेबाट सरकारी कर्मचारी र जनप्रतिनिधिलाई कोरोना खोप लगाउने सरकारले यसअघि निर्णय गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजबाट सुरु भएको खोप अभियान८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुले खोप लगाउन सक्नेछन् । पहिलो प्राथमिकतामा परेका तर लगाउन छुटेकाहरुलाई पनि यो चरणमा खोप उपलब्ध गराइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले काठमाडौंका १२ अस्पतालमा खोप केन्द्र तोकेको छ । वीर अस्पताल, सिभिल अस्पताल मिनभवन, टेकु अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, प्रसूति गृह थापाथली, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल लाजिम्पाट, शहीद गंगालाल अस्पताल बाँसबारी, नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी र काठमाडौं मेडिकल कलेज सिनामंगलमा खोप केन्द्र तोकिएको छ । खोप लगाउन जाँदा आफ्नो कार्यालयको परिचय पत्र साथमै लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ ।
नेपाल सरकारले माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । नेपालमा कोरोनाविरुद्ध कोभिसिल्ड खोप प्रयोगमा ल्याइएको छ ।
भारतले अनुदानमा दिएको खोप सरकारले प्राथमिकताका साथ लगाइरहेको छ । यो खोप ७० प्रतिशत प्रभावकारी मानिएको छ । भारतमा केहीको ज्यान गएपनि नेपालमा भने त्यस्तो कुनै गम्भीर असर नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले निर्धक्कका साथ खोप लगाउन सरकारले सबैमा अपील गरेको छ ।