
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिँदै सिंहदरबार र बालुवाटार घेर्ने बताए । ओलीलाई जवाफ फर्काउँदै प्रचण्डले विरोध सभा र जनप्रदर्शन कस्तो हुन्छ देखाएको बताए ।
“केपीजी विरोध, सभा र प्रदर्शन देख्नुभयो कस्तो हुन्छ ? तपाई अझैपनि यो लाखौ जनताको उपस्थिति, विरोध आक्रोश, आवेग र पीडालाई बुझ्नुभएन भने सिंदरवार र वालुवाटार घेर्न लाखौ लाख जनता आउँछन्” प्रचण्डले बुधबार काठमाडौँमा आयोजित जनसभालाई सम्बोधन गर्दै भने । उनले सर्वोच्च अदालतले ढिलो नगरी संविधान र लोकतन्त्रको पक्षमा फैसला दिनेमा आफू विश्वस्त रहेको बताए । प्रचण्डले संविधानको मर्म र भावना तथा नेपाली जनताको भावनाविपरित केही काम गरियो भने त्यो दुर्भाग्यपूर्ण हुने बताउँदै शान्तिपुर्ण आन्दोलन विद्रोहमा गयो भने के हुन्छ ? भन्ने प्रश्न समेत गरे ।
सभालाई सम्बोधन गर्दै प्रचण्डले जनताको पक्षमा फैसला नभए देशमा आँधीहुरी चल्ने र त्यसलाई कसैले थाम्न नसक्ने चेतावनी समेत दिए । केपी ओलीले बनाएका दुई जना मन्त्री पनि फर्कन लागेको उनले बताए ।
त्यसैगरी प्रचण्डले केपी ओलीबाट सरेको धुलोमैलो सफा गर्ने भन्दै घोषणापत्रमा गरेको प्रतिवद्धता कार्यन्वयन बताए । उनले आफूहरुलाई प्रधानमन्त्रीको कुर्सी चाहिएको होइन, नेपाली जनताको हक अधिकार चाहिएको बताए ।
वरिष्ठ नेता झलनाथ खनालले आगामी चुनावमा प्रधानमन्त्री केपी शर्मा नराम्रोसँग पराजित हुने बताएका छन् । लामो त्याग र बलिदानबाट बनेको संविधानमाथि नै हमला गरेका कारण जनताले ओलीलाई सजाय दिने बताए ।
प्रधानमन्त्री ओलीको संविधान विघठन गर्ने कदमविरुद्ध बुधबार राजधानीमा आयोजना गरिएको विरोध सभामा बोल्दै खनालले संयुक्त आन्दोलनमा आउन दलहरुलाई आह्वान समेत गरे ।
आफ्नो पार्टीमा गुटको झगडा नभएर विचारको लडाइँ भएको बताए । उनले पुस ५ मा प्रतिक्रान्ति भएकाले त्यसविरुद्ध आन्दोलन भइरहेको भन्दै खनालले कांग्रेस, जनता समानवादी पार्टीलगायतका दलहरुलाई आग्रह गरे ।
सभालाई माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, स्थायी समिति सदस्यहरु जनार्दन शर्मा, रघुजी पन्त तथा नेताहरु रामकुमारी झाक्री, अमृता थापा मगर लगायतले सम्बोधन गरेका थिए ।