काठमाडौं । शुक्रबार डोल्पा, बाजुरा लगाएतका पश्चिमी जिल्लाहरुमा भारी वर्षात भएको छ ।भारी हिमपातसंगै अत्याधिक चिसो बढेकाले त्यहाँको जनजीवन कष्टकर भएको छ । अहिले डोल्पाको तापक्रम –९ डिग्री सेल्सियस रहेको छ ।
डोल्पामा बिहीवार दिउँसोदेखिको बदलीसँगै रातिदेखि वर्षात् र हिमपात शुरु भएको हो । बाक्लो हिमपातका कारण किसान भने उत्साहित र खुशी भएका छन् । समयमै हिमपात र वर्षा नहुनाले त्यहाँका किसान चिन्तित थिए । बिहीबार रातिबाट बर्षासँगै हिमपात हुन थालेपछि किसान खुशी भएका छन्।लामो समयसम्म पानी नपरेपछि लगाएका हिउँदेबाली खेतमै सुक्ने भयो भनेर चिन्तित बनेका किसान बर्षासँगै हिमपात हुन थालेपछि अब खेतबारी मलिलो भएर बारी सप्रिने भयो भन्दै उत्साहित भएका छन् ।
तराई भेगमा पनि चिसोको कारण जनजीवन प्रभावित भएको छ । विगत तीन दिनदेखि बाक्लो हुस्सु र अत्याधिक चिसोका कारण महोत्तरीलगायत तराईको जनजीवन प्रभावित भएको छ ।
जल तथा मौसम विभागका अनुसार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा प्रदेश न १ र बागमती प्रदेशका केही स्थानहरुमा ३ दिनसम्म हल्का देखि मध्यम बर्षा हुने संभाबना रहेको बताएका छन् । देशका उच्च पहाडी र हिमाली भू(भागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना समेत रहेको छ ।