आज :

संसद् विघटन र राजनीतिक संकटको मुख्य कारण केपी होइनन्ः विप्लव  

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले संसद् विघटनपछि देखा परेको राजनीतिक संकटको मुख्य कारण प्रधानमन्त्री केपी शर्मा ओली नभएको बताएका छन् । त्यस्तै, प्रचण्ड-नेपाल समूह पनि नभएको विप्लवले बताउँदै यसको मुख्य कारण दलाल संसदी व्यवस्था भएको बताएका छन् ।

ओलीले काम गर्न नदिएको र प्रचण्ड-नेपाल समूहले पार्टीको निर्णय नमानेको भनेर एक अर्कालाई दोष थोपरेपनि यसको मुल कारण दलाल पुँजीवादी सत्ता चलाइरहेका दलाल पुँजीपति वर्ग–समूहहरूको आपसी टक्कर र सङ्घर्ष भएको विप्लवको दाबी छ ।

विप्लवले संसद विघटनपछिको राजनीतिक संकट दलाल पुँजीपति र साम्राज्यवादी शक्तिहरूले खेलाउँदा खेल्ने कठपुतली चरित्रका पार्टी र नेताहरूको अवसरवादी–आत्मसमर्पणवादी चरित्रका साथै आपसी हानाथाप र सङ्घर्ष भएको बताउँदै साम्राज्यवादी शक्तिहरूको आपसी सङ्घर्ष र विफलता भएको बताएका छन् ।

विप्लव लेख्छन्- केपीले संसद् विघटन गरेपछि देशमा सङ्कट पैदा हुनुका कारणमा संसद्वादी दलहरूले एकले अर्कोलाई सरापिरहेका छन् । केपीले आफ्नै दलका प्रचण्ड–माधवहरूले काम गर्न नदिएको र ढाल्न खोजेको तर्क गरेका छन् । प्रचण्ड–माधवले केपीले पार्टीको निर्णय नमानेको साथै आफ्नो मनपरी गरेकाले समस्या आएको तर्क गरेका छन् । काङ्ग्रेस कम्युनिस्ट पार्टी सरकार चलाउन असफल भएको तर्क गर्दै छ । जनता समाजवादी केपी सरकार असफल भएको तर्क गर्दैछ । यसको समाधानबारेमा पनि उनीहरूका आआफ्नै धारणा छन् । मुख्यतः केपीले नयाँ चुनाव गरेर निकास दिनुपर्छ भनेका छन् । प्रचण्ड–माधवले संसद्को पुनस्र्थापना गरेर नयाँ सरकार बनाई निकास दिनुपर्छ भनेका छन् भने काङ्ग्रेस भित्रबाट चुनावमा जान चाहन्छ तर बाहिर संसद् विघटन गलत हो, जे भए पनि काङ्ग्रेस तयार छ भन्छ । तर हामी यो असफलता, सङ्कट आउनुको कारण केपी सरकार पनि हो तर यो मात्र होइन, प्रचण्ड–माधवको अवरोध पनि हो तर यो मात्र पनि होइन, कथित कम्युनिस्ट पार्टीको असफलता पनि हो तर त्यो मात्र पनि होइन । यसको मूल कारण भनेको दलाल पुँजीवादी सत्ता चलाइरहेका दलाल पुँजीपति वर्ग–समूहहरूको आपसी टक्कर र सङ्घर्ष हो । दलाल पुँजीपति र साम्राज्यवादी शक्तिहरूले खेलाउँदा खेल्ने कठपुतली चरित्रका पार्टी र नेताहरूको अवसरवादी–आत्मसमर्पणवादी चरित्रका साथै आपसी हानाथाप र सङ्घर्ष हो । साम्राज्यवादी शक्तिहरूको आपसी सङ्घर्ष र विफलता हो । आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार दलालहरूको सत्ता र सरकारको विफलता हो । यस अर्थमा यो सङ्कटको मूल कारण भनेको दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था हो ।

त्यसैगरी यो राजनीतिक संकटको चुनाव वा संसद पुनर्स्थापना नभएको बताउँदै विप्लवले भने, ” यसको समाधान पनि न केपी सरकारको परिवर्तन हो, न संसद्को पुनस्र्थापना हो, न त चुनाव नै हो । यसको वास्तविक समाधान भनेको दलाल पुँजीपति वर्गको सत्ता र व्यवस्थाको आमूल परिवर्तन हो । हाम्रो विचारमा यो विश्लेषण र निकासको विकल्प जनचाहनासँग मेल खाने विचार हो ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal