
काठमाडौँ । अन्ततः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ (नेकपा) को ओली समूहतिर लागेका छन् । बालुवाटारमा विहीबार बालुवाटार बसेको केन्द्रीय समिति बैठकमा बादल सहभागी भएका छन् । योसँगै अब बादल कता लाग्लान ? भन्ने प्रश्न पनि सकिएको छ ।
बादल ओलीतिर लागेपनि उनका प्रमुख राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ भने प्रचण्ड–माधव समूहतिर लागेका छन् । बबरमहलमा बसेको केन्द्रीय समिति बैठकमा पथिक सभागी भएका छन् । उनले बादलको सचिवालयबाटै राजिनामा समेत दिएका छन् । उनले नैतिक रुपमा बस्न नसक्ने भन्दै राजिनामा दिएका हुन् ।
बालुवाटारको केन्द्रीय समिति बैठकमा बादलले प्रचण्ड–माधव समूहलाई सानो झुण्ड भएको बताए । उनले (नेकपा)बाट एउटा सानो गुट अलग भएको समेत बताए । मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन केपी शर्मा ओलीलाई आफूले साथ दिएको बादलले बताए । संसद विघटन स्थिरता र क्रान्तिकारी परविर्तनको लागि भएको बताउँदै बादलले भने, “प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ । चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्छ ।”
यता लामो समयदेखि साथ दिँदै आएका पथिकले भने बादलले विचार र राजनीतिक कारण बादल ओलीतिर नलागेको बताए । उनले आफूहरुले लामो समयसम्म छलफल गरेको तर बादल ओलीलाई छोड्न तयार नभएको समेत बताए । ओली समूहसँग विचार राजनीति भन्दा पनि सत्तामोह भएका बताए ।