
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेसँगै नेपाली काँग्रेसभित्र पनि नयाँ विवाद सुरु भएको छ । संसद विघटनको विरोध र समर्थनमा काँग्रेसभित्र विवाद सुरु भएको हो ।
संसद विघटनसँगै काँग्रेसका नेता कार्यकर्ता सडकमा उत्रिएका छन् भने नेताहरु के गर्ने भन्नेमै अल्मलिएका छन् । सुरुमा पदाधिकारी बैठक बसेर ओलीको कदमविरुद्ध विरोधमा उत्रिने निर्णय गरेको काँग्रेस केन्द्रीय समिति बैठकमा आउँदासम्म दुई फ्याक भएको छ । यसअघि प्रचण्ड समूहसँग बालुवाटारमा भएको बैठकमा संयुक्त रुपमा ओलीको कदमविरुद्ध आन्दोलनमा उत्रिने सहमति भएको थियो ।
मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा काँग्रेसमा दुई धार स्पष्ट देखिएको छ । सभापति शेरबहादुर देउवा पक्षीय नेताहरुले यसलाई अबसरको रुपमा लिँदै चुनावमा जानु पर्ने पक्षमा उभिएका छन् । त्यस्तै, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायतका नेताहरु ओलीको कदमलाई असंवैधानिक भन्दै सडक आन्दोलनको पक्षमा उभिएका छन् । देउवाले आफूले मुख नखोलेपनि आफू निटक नेताहरुसँग चुनावमा जानेबारे छलफल थालेका छन् । मंगलबार बसेको केन्द्रीय समिति बैठकले पनि कुनै ठोस निर्णय गर्न सकेन ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र उनीपक्षीय नेताहरु भने ओलीको कदम संविधानमाथिको हमला भएकाले लोकतान्त्रिक पार्टीले क्षणिक लाभहानी हेर्न नहुने बैठकमा धारणा राखेका थिए । पौडेलले ओलीको कदम संविधानमाथिको हमला भएकाले लोकतान्त्रिक पार्टीले क्षणिक लाभहानि हेर्न नहुने बताउँछन् । पौडेल र उनीपक्षीय अधिकांश केन्द्रीय सदस्यहरु ओलीको असंवैधानिक कदमलाई उल्टाउन पार्टी सडक संघर्षमा जानुपर्नेम जोड दिएका छन् ।
तर सभापति देउवाले भने ओलीको कदमको विरोधमा कार्यक्रम तय गर्न मानेका छैनन् । बरु उनले सरकारमा जानेबारे आफू निकट नेताहरुसँग छलफल गरिरहेको बताइएको छ । काँग्रेस स्रोतका अनुसार संसद पुर्नस्थापनको लागि सडक आन्दोलनमा जानुभन्दा सरकारमा गएर चुनावको तयारीमा लाग्नु उपयुक्त हुने देउवाले बताउने गरेका छन् । संसद विघटनअघिसम्म प्रधानमन्त्री ओलीविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका सभापति देउवा राष्ट्रिय राजनीतिसँगै फेरिएका छन् ।