
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने निर्णय गरेको छ । संसद विघटन गरेर बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीमाथि ओलीले प्रहार गरेको निष्कर्ष निकाल्दै अनुशासनको कारवाही गर्ने निर्णय गरेको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले आइबार साँझ बालुवाटारमा बसेको बैठकमा संसद विघटन विरोध गर्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने निर्णय भएको जानकारी दिए । यस्तै राष्ट्रपतिले पनि असंवैधानिक कदम चाल्नु आपत्तिजनक भएको बैठकले ठहर गरेको छ ।
ओली पक्षीय कुनै पनि नेताको उपस्थिति नभएको आजको बैठकले पुस ७ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय समेत गरेको छ । यसअघि पुस १० गते केन्द्रीय समिति बैठक बोलाइएको थियो । ओलीलाई कारवाही गर्ने निर्णय केन्द्रीय समितिमा अनुमोदनको लागि पेश गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
योसँगै (नेकपा) फुटको छ । एक नेताका अनुसार पार्टी विभाजन भइसक्यो औपचारिक रुपमा घोषणा हुन मात्रै बाँकी छ । “अब पार्टी फुटिसक्यो नी, घोषणा हुन बाँकी छ । ओली कमरेडलाई पार्टीले कारवाही गर्छ । उहाँ सच्चिएर पार्टीमा फर्किने सम्भावना कम छ । त्यसैले उहाँ चोइटिएर जानुहुन्छ” प्रचण्ड निकट एक स्थायी समिति सदस्यले भने ।
यसअघि विवादित अध्यादेश फिर्ता लिने भनेर ओलीले गरेको वाचा पनि उलंघन गरेका छन् । यो भनेको विभाजनको मानसिकता हो । अध्यादेश जारी पछि बसेको संवैधानिक परिषद बैठकले संवैधानिक निकायमा नियुक्ती गरेका सार्वजनिक भइसकेको छ । यसैबीच आइतबार साँझ (नेकपा), नेपाली काँग्रेस र सजपाले मिलेर ओलीको कदमविरुद्ध संघर्ष गर्ने सहमति गरेका छन् । यो पनि फुटको अर्को उदाहरण हो ।
(नेकपा)का अध्यक्ष समेत रहेका ओलीले पार्टीको बारेमा कुनै जवाफ लिएका छैनन् । आज निकै व्यस्त भएका कारण पार्टी विभाजनबारे नेताहरुसँग कुनै छलफल गर्न नै पाएनन् । बालुवाटार स्रोतका अनुसार ओलीले आजबाट पार्टीका आफू निकट नेताहरुको भेला बोलाएका छन् । छलफलबाट उनले पार्टी विभाजनबारे घनिभूत रुपमा छलफल गर्ने बताइएको छ ।