काठमाडौं । आज दशैंको अन्तिम अर्थात मुख्य दिन । मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र जमरा लगाएर दशैं मनाइँन्छ । जमरालाई समृद्धिको प्रतीकको रुपमा लिइन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको जनाएको छ । त्यसपछि १०ः१९ बजे टिका सुरु हुने समितिले जनाएको छ ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ ।
महानवमीका अवसरमा आइतबार हनुमानढोकास्थित तलेजु भवानी मन्दिर कोरोनाको त्रासका कारण नखुले पनि भौतिक दूरी कायम गरी सोमबार तुलजा भवानी यात्रा भने गरिने जनाइएको छ ।
तलेजु भवानीको मन्दिर वर्षमा एक दिन मात्र महानवमीका दिन खोल्ने प्रचलन थियो । समितिले दिएको साइतमा बिहान ८ः४७ बजे भवानी यात्रा शुरु गरिनेछ । भवानीलाई स्थिरासन भने बिहान ९ः४९ बजे नै गरिनेछ । यसैगरी खड्गयात्रा पनि सोमबार नै गरिने जनाइएको छ ।