
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान जानेको संख्या ५ सय नाघेको छ । विहीबार कोरोना भाइरसको संक्रमणपछि होम आइसोलेसनमा बसेकी मोरङ उर्लाबारी नगरपालिका– २ कि ८४ वर्षीया वृद्धाको ज्यान गएको छ ।
विराट मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार कोरोना पोजेटिभ देखिएपछि वृद्धा होम आइसोलेसनमै बसेकी थिइन् । उनको बिहीबार विहान ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । बुधबार राति सुनसरी इटहरीका दुई जनाको संक्रमणका कारण ज्यान गएको थियो ।
इटहरीमा होटल व्यवसाय गर्ने इटहरी उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुष र लागूऔषध मुद्दामा पूर्पक्षका लागि मोरङ कारागारमा रहेका २७ वर्षीय युवकको निधन भएको हो ।
त्यसैगरी बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं. ८ का ८० वर्षीय पुरुषको बुधबार राति ज्यान गएको छ । उनलाई असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान साढे ६ बजे अ स्पताल भर्ना भएको थियो ।
बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा गएराति साढे ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनी उच्च रक्तचापका दीर्घ रोगी रहेको डा. गौतमले बताए ।
रौतहटका एकजना कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ । रौतहटको ईशनाथ नगरपालिका–४ बस्ने ७४ वर्षीय पुरुषको आज विहान ज्यान गएको छ ।
नेशनल मेडिकलमेडिकल कलेजका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनका अनुसार अस्थायी कोरोना अस्पताल (बाबा होटल आइसोलेसन) मा उपचारको क्रममा आज बिहान ८ः२५ मा ज्यान गएको थियो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय नाघेको छ ।