काठमाडौँ । कोरोना भाइरसबाट नेपालमा संक्रमित हुनेको संख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार ३९ हजार ४६० पुगेको जनाएको थियो । मंगबार थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत ११ जना प्रहरीसहित ६३ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये ३१ जना बुटवल उपमहानगरपालिकाका रहेका छन् ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा डडेल्धुराका २ सहित सुदुरपश्चिमका बैतडी, अछाम, बझाङका गरी ५६ जनामा कोरोना पुष्टि भएको डडेल्धुरा अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुदुरपश्चिमका पहाडी जिल्लाका ५३५ स्वाब नमुनामध्ये ५६ मा कोरोना पोजेटिभ देखिएको छ ।
त्यसैगरी डडेल्धुरा गन्यापधुरा गाउँपालिकाका २, अछाम पञ्चदेवल नगरपालिकाका ५, बैतडीका पुर्चौडी नगरपालिका १, मेलौली नगरपालिका २ र शिगास गाउँपालिकाका ८ जनामा कोरोना पुष्टि भएको हो ।
त्यसैगरी बझाङ वित्थडचिर गाउँपालिकाका २, बुड्डल नगरपालिकामा १४, छत्तिसपाथीभरा गाउँपालिका २, केदाश्यु गाउँपालिका १६ र थलारा गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको छ । स्वाब संकलन गरिएका ५३५ नमूनामध्ये ५६ नमुनाको रिपोर्ट पोजिटिभ र ४७९ नमूना नेगेटिभ देखिएको डडेल्धुरा अस्पताल कोभिड १९ परीक्षण प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले जानकारी दिए ।
त्यसैगरी काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षणको लागि दुई दिनअघि परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । शाक्यको सचिवालयकाअनुसार मेयर शाक्य हाल ‘होम आइसोलेसन’मा रहेको बताइएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणको अध्यवधिक विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्न नियमित प्रेस ब्रिफिङको तयारी भइरहेको छ ।