 
	
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राम भारतीय नभएको र अयोध्या नेपालीभूमि नै भएको बताएका छन् । भानु जयन्तीको अबसरमा बालुटारमा आयोजित कार्यक्रममा बोल्दै ओलीले भारतले नक्कली अयोध्या बनाएर नेपाली संस्कृतिमाथि हस्तक्षप गरेको बताए ।
प्रधानमन्त्री ओलीले तथ्यहरुमाथि भारतले अति क्रमण गरेको बताउँदै भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा रहेको बताए । “हामी अहिले पनि ठानिरहेका छौँ, हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ । भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले । अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिम पट्टीको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन” ओलीले भने । उनले अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम नेपालमा र दशरथबाट सन्तान नभएपछि पुत्रिष्टी यज्ञ लगाउने पण्डित जी रिडीका बताउँदै राम पनि भारतीय नभएको र अयोध्या पनि भारतमा नपर्ने बताए ।
प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सहि भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भन्ने प्रश्न गर्दै त्यो समयमा कुनै सञ्चार सुविधा विना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको दाबी समेत गरे । ओलीले अगागि भने, “यहाँ जनकपुर उहाँ अयोध्या हुन्थ्यो भने कहाँ छोरीको विहे गर्न खोज्या छ, त्यसबेलामा न टेलिफोन न मोबाइल कताबाट थाहा होस् । थाहा हुन सम्भव थिएन् । नजिकै पर्थो सजिलैसँग गए होलान् तर त्यो इतिहास बहस गरी साध्य छैन् ।” ओलीले ज्ञान, विज्ञान र अनेक कुराको सुरुवात र विकास नेपालमा भएको र त्यसले निरन्तरता पाउन नसकेको बताए ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          




