आज :

जेनजी आन्दोलनले व्यवस्था बदलेको होइन, उत्सव मनाएर बिदा दिनुको औचित्य छैन : पेम्बा गुरुङ 

  • अनलाइन डबली

काठमाडौं । संविधान सभा सदस्य पेम्बा गुरुङ भोटेले गत वर्ष भदौ २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’ले मुलुकको शासकीय व्यवस्था परिवर्तन नगरेको दाबी गर्दै सरकारले यसको वार्षिकीमा सार्वजनिक बिदा घोषणा गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।

आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा आफ्नो धारणा राख्दै उनले तत्कालीन समयमा राज्यका प्रमुख प्रशासनिक तथा न्यायिक निकायहरूमा भएको तोडफोड र आगजनीलाई बिर्सेर उत्सवका रूपमा बिदा दिनु अराजक गतिविधिलाई प्रश्रय दिनुसरह भएको टिप्पणी गरेका हुन् ।

आन्दोलनलाई दुई पाटोबाट हेर्नुपर्ने प्रष्ट पार्दै गुरुङले भदौ २३ गतेको आन्दोलन तत्कालीन सरकारको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, सुशासनको अभाव र जनताप्रतिको बेवास्ता विरुद्ध युवा पुस्ताको जायज खबरदारी भएको बताए । तर, २४ गते सिंहदरबार, शीतल निवास र सर्वोच्च अदालतजस्ता संवेदनशील राज्यका अङ्गहरूमाथि धावा बोल्दै ऐतिहासिक दस्तावेजहरू नष्ट गर्ने गरी भएको विध्वंसले मुलुकलाई अराजकतातर्फ धकेलेको उनको विश्लेषण छ ।

उनका अनुसार २३ गतेको आन्दोलनलाई सकारात्मक रूपमा लिए पनि २४ गतेको विध्वंसलाई आगामी पुस्ताले नसिकून् भन्ने रूपमा लिनुपर्ने हुन्छ । यस आन्दोलनले नेकपा एमालेसहित सम्पूर्ण राजनीतिक दलहरूलाई सत्ता प्राप्ति नै सर्वोपरि होइन भन्ने ज्वलन्त पाठ सिकाएको उनले उल्लेख गरे ।

राज्यका गुप्तचर संयन्त्र र प्रशासन हातमा हुँदाहुँदै पनि जनआक्रोश र आन्दोलनको पूर्वतयारीबारे सुइँको नपाएर तत्कालीन सरकारको नेतृत्व भाग्नुपर्ने अवस्था आउनु गम्भीर कमजोरी रहेको भन्दै उनले व्यवस्था परिवर्तन गर्ने दलहरूले पनि डेलिभरी दिन नसके विकल्प खोजिने चेतावनी दिए । साथै, अब पुराना दलहरूले विगतका कमजोरी सच्याउँदै युवा पुस्तालाई पार्टीका कार्यकारी पदमा समायोजन गरेर अघि बढ्नुपर्ने आवश्यकता उनले औँल्याए ।

फागुन २१ को निर्वाचनबाट झन्डै दुई तिहाइ जनमत लिएर आएको वर्तमान सरकारको नियत सफा भए तापनि अनुभवहीनता र आफ्नै शैलीमा हिँड्ने प्रवृत्तिका कारण सेवा प्रवाहमा चुकेको उनको आरोप छ । पछिल्लो समय बाढीपहिरो र विपद् व्यवस्थापनमा सरकारले देखाएको सुस्त उद्धार तथा राहत कार्यले यसलाई पुष्टि गरेको बताउँदै भोटेले केवल युवाको नाममा मात्र नभई अनुभवी पुस्तासँगको सहकार्य र सन्तुलनबाट मात्र राज्य सञ्चालन सम्भव हुने दाबी गरे ।

जेन–जी आन्दोलनपछिको राजनीतिक शून्यतालाई स्मरण गर्दै उनले सो आन्दोलनले संविधानलाई केही समयका लागि ‘कोमा’मा पु¥याएको तर्क गरे । संविधानको कुनै पनि धारामा नटेकी गैरसंवैधानिक रूपमा सुशीला कार्की नेतृत्वको सरकार बन्नु परेको अवस्था उल्लेख गर्दै उनले फागुन २१ को निर्वाचनपछि मात्र संविधान पुनः ट्रयाकमा आएको स्पष्ट पारे । व्यवस्था नै परिवर्तन गर्न नसकेको र एक दिनको सकारात्मक उपलब्धि अर्को दिनको विध्वंसले गर्दा शून्यमा झरेको आन्दोलनलाई जित वा सफलताको रूपमा व्याख्या गर्न नमिल्ने उनको भनाइ छ ।

विपद्का मृतकप्रति सम्मान व्यक्त गर्दै सरकारले आज दिएको शोक बिदा र झण्डा आधा झुकाउने निर्णयलाई सकारात्मक रूपमा लिनुपर्ने भए पनि भोलिका लागि घोषित आन्दोलन बिदा नागरिकमाथि अनावश्यक भार भएको उनले बताए ।

हप्तामा दुई दिन शनिबार र आइतबार बिदा हुँदा सर्वसाधारणले सरकारी सेवा लिन सास्ती बेहोर्नु परिरहेको सन्दर्भमा जनताको दैनिक समस्या समाधान गर्नुको साटो कसैलाई खुसी पार्न औचित्यहीन बिदा थप्ने काम तत्काल बन्द गर्नुपर्नेमा उनले जोड दिए ।

-सन्तोषी रावल, नेपाल न्यूज बैंक

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal