आज :

महिला हिंसा र होस्टेल सुरक्षाका घटना गम्भीरतापूर्वक अनुसन्धान गर्न ध्यानाकर्षण

  • अनलाइन डबली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले बारा जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या तथा सप्तरीकी दुई वर्षीया खुसी खातुनको घरपरिवारबाटै हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको उल्लेख गर्दै यस्ता घटनाले राज्य संयन्त्र र सामाजिक चेतनामाथि गम्भीर प्रश्न उठाएको बताइन्।

‘निर्दोष छोरीहरू निरन्तर क्रुर हिंसा, यौनजन्य अत्याचार र विभत्स हत्याको शिकार हुनुले हाम्रो कानुनी राज्यको मर्यादा र सामाजिक चेतनाको धज्जी उडाएको छ’उनले भनिन् ।

शर्माले छोरीहरू आफ्नै घरआँगनमा समेत असुरक्षित बन्नुपर्ने र पीडित परिवारले न्यायका लागि सडकमा आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको बताइन्।

उनले एकपछि अर्को विभत्स घटना भइरहेका बेला प्रधानमन्त्रीको निजी भ्रमणले नागरिकमा निराशा र राज्यको उदासीनता झल्किएको आरोप लगाइन्।

शर्माले काठमाडौंको शंखमूलस्थित भ्याली ब्वाइज होस्टेलमा दाङ घोराही–१७ का २२ वर्षीय बसन्त कलाथोकीको आफ्नै साथीबाट धारिलो हतियार प्रहार गरी हत्या भएको घटनाप्रति पनि सरकारको ध्यानाकर्षण गराइन् ।

छोराको मृत्युको खबर सुनेपछि मानसिक आघातका कारण ३८ वर्षीया आमा बिना कलाथोकीको समेत मृत्यु भएको उल्लेख गर्दै उनले घटनाले देशभरका होस्टेलको सुरक्षा व्यवस्थापन र सूचना सम्प्रेषणको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको बताइन्।

उनले भनिन्,‘यस घटनाले होस्टेलहरूको सुरक्षा व्यवस्थापन र सूचना सम्प्रेषणको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ। देशैभरिका होस्टेलहरूको सुरक्षा मापदण्ड र अनुगमनलाई तत्काल कडा बनाइयोस् र निगरानी गरियोस्।’

शर्माले सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै पछिल्ला सबै घटनाको निष्पक्ष र गम्भीर अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरिन्।

उनले पीडित परिवारलाई उचित न्याय र दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न पनि सरकारसँग माग गरिन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal